माडीका दर्शकहरूका लागि यसपटकको उत्सव थप आकर्षक बन्ने भएको छ । तेस्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३ मा ‘लण्डन ब्रिज’ विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
उत्सवमा आउने दर्शकहरूलाई टिकटक भिडियो बनाउन, फोटो खिच्न तथा मनोरञ्जन लिन सहज होस् भन्ने उद्देश्यले पहिलोपटक लण्डन ब्रिजसहितको आकर्षक प्रवेशद्वार निर्माण गर्न लागिएको हो । यसले विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उत्सवमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ ।
माडी कला केन्द्रको आयोजनामा आगामी बैशाख ३ गतेदेखि १५ गतेसम्म उत्सव सञ्चालन हुनेछ । माडी नगरपालिका र उद्योग वाणिज्य संघ माडीको प्रवर्द्धनमा आयोजना हुन लागेको उक्त उत्सवको व्यवस्थापन द लिड इन्टरटेनमेन्ट एण्ड एडभरटाइजिङ, वीरगञ्जले गर्ने जनाएको छ ।
आयोजकका अनुसार उत्सवमा स्थानीय कला, संस्कृति, खानाका परिकार तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन् । यस वर्ष ‘लण्डन ब्रिज’ जस्तो नयाँ संरचनाले उत्सवलाई अझ आकर्षक र स्मरणीय बनाउने विश्वास गरिएको छ ।
