नव वर्ष २०८३ को अवसर पारेर सगरमाथा युवा क्लब माडी–६, रामराज्यपुरको आयोजनामा सञ्चालन गरिएको माडी नगरस्तरीय भलिबल प्रतियोगिता “न्यू ईयर कप–२०८३” सम्पन्न भएको छ।
आज सम्पन्न फाइनल खेलमा पुरुष भेट्रानतर्फ ब्रह्मपुरी भलिबल क्लब विजयी बन्न सफल भएको छ। त्यस्तै, महिलातर्फ पनि ब्रह्मपुरी भलिबल क्लबले उपाधि हात पारेको छ भने पुरुषतर्फ इन्टरमिलान क्लब विजेता बनेको छ।
क्लबका अध्यक्ष शेरबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा माडी–६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।
प्रतियोगिता गत चैत २९ गतेदेखि रामराज्यपुरस्थित खेल मैदानमा सञ्चालन गरिएको थियो। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास तथा युवाहरूको सहभागिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
