चितवनको माडीमा आउँदो जेठ २ गते शनि जयन्तिको अवसर पारेर एघारौँ शनि जयन्ती उत्सव आयोजना गरिने भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस उत्सवलाई यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी सुरु गरिएको छ।
माडी–७, देबेन्द्रपुरस्थित शनि धाममा प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्सव सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा युवा पण्डित सुदर्शन सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार शनि देवप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक गतिविधि, पूजा–अर्चना तथा विभिन्न कार्यक्रमसहित उत्सव मनाइनेछ।
यसैबीच, शनि मन्दिर व्यवस्थापन समितिले प्रकाशन गरेको भित्ते पात्रो (वाल क्यालेन्डर) को आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ। सोही कार्यक्रममा यस वर्षको शनि जयन्ती उत्सव मनाउने निर्णय समेत गरिएको हो।
उत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन सुदर्शन सुवेदी संयोजक रहने गरी १२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा भुवानी प्रसाद आचार्य र सचिवमा जगत प्रसाद अधिकारी चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा रेवती पौडेल, कमला काफ्ले, रमाकान्त सापकोटा, बाबुराम सुवेदी, एकनारायण पौडेल, गणेश अधिकारी, डिल्लिराम च्वाईं, खेमबहादुर रानाभाट र गोपाल खनाल रहनुभएको छ।
समितिले उत्सव सफल बनाउन स्थानीयवासी, भक्तजन तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साथै, धार्मिक पर्यटन प्रवर्द्धनमा समेत यस प्रकारका कार्यक्रमले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
