नयाँ वर्ष २०८३ को अवसरमा योङ्ग स्टार क्लब, माडी–३ पौहारीको आयोजनामा जारी पाँचौँ “न्यू इयर कप–२०८३” सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि आज जनकल्याण तमु समाज र आयोजक योङ्ग स्टार क्लब आमनेसामने हुँदैछन् ।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा जनकल्याण तमु समाजले ब्रह्मपुरी युवा क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस्तै, अर्को सेमिफाइनलमा आयोजक योङ्ग स्टार क्लबले स्याउलीबास युवा क्लबलाई २–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ । फाइनल खेल आज दिउँसो ४ बजे हुने तालिका छ ।
गत वैशाख १ गतेदेखि बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको मैदानमा सञ्चालन भइरहेको माडी स्तरीय नकआउट फुटबल प्रतियोगितामा विजेताले नगद ४० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
