गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारीसँग सेयर लगानीसम्बन्धी विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र आलोचनापछि उनले नैतिकताको आधारमा पद त्याग गर्ने निर्णय गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजैदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन्। चैत १३ गतेदेखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।
उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। साथै, देशमा सुशासनको माग बढिरहेको सन्दर्भमा जनविश्वास जोगाउनु सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ।
गुरुङले पदभन्दा नैतिकता ठूलो हुने उल्लेख गर्दै युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न अपिल समेत गरेका छन्।
