चितवनमा नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यालयहरुको बसको यान्त्रिक परीक्षण र चालकहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि भरतपुर गेष्टहाउस चौरमा निःशुल्क यान्त्रिक चेकजाँचसंगै बस चालकको पनि स्वास्थ्य परीक्षणको सुरुवात गरेको हो ।
प्याब्सन चितवनको सहकार्यमा दुर्घटना न्यूनीकरणका लागि विद्यालय बसको निःशुल्क यान्त्रिक परीक्षणसंगै चालकहरुको पनि स्वास्थ्य परीक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन ५५ वटा बसको यान्त्रिक परीक्षण गरिएको छ । ती बसका चालकहरुको भने स्वास्थ्य परीक्षण गरिएको छ । चालकहरुको पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आँखा, दाँच, मधुमेह (सुगर) र रक्तचाप परीक्षण गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
पहिलो चरणमा लगातार तीन दिन भरतपुर र नारायणगढ बजार आसपासका विद्यालयहरुको बसको यान्त्रिक र चालकहरुको स्वास्थ्य परीक्षण गरिने छ । त्यसपछि क्रमशः पश्चिम र पूर्वी चितवनमा बसको यान्त्रिक परीक्षण गरिने छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले यान्त्रिक र स्वास्थ्य परीक्षणको शुभारम्भ गर्नुभयो ।
सो क्रममा बोल्दै प्रहरी प्रमुख पुरीले विद्यालय बसहरुलाई दुर्घटनाबाट जोगाउन यसखालको परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालय स्वंम पनि सवारी साधनको परीक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पुरानो मेडिकल कलेजका निर्देशक डा.सुदिप केसीलगायतको उपस्थिति रहेको थियो ।
