माडी नगरपालिका–२ भैरवपुरमा जारी तेस्रो शोभाखर स्मृति कप–२०८३ अन्तर्गत नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा जनकल्याण तमु समाज र माडी–८ फुटबल टिम प्रवेश गरेका छन् ।
शनिबार सम्पन्न सेमिफाइनलमा माडी–८ ले डायनामिक युथ क्लबलाई ४–१ गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गर्यो । माडी–८ का जर्सी नम्बर ७ पदम नेपाली म्यान अफ द म्याच घोषित भए ।
यस्तै, दोस्रो सेमिफाइनलमा जनकल्याण तमु समाजले साविक विजेता योङ्ग स्टार पौहारीलाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । जनकल्याणका जर्सी नम्बर ४ बिपिन पन्त म्यान अफ द म्याच चुनिए ।
दिवंगत समाजसेवी शोभाखर काफ्लेको स्मृतिमा माडी–२ वडा कार्यालय र ज्ञानज्योति युवा क्लब, भैरवपुरको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ । अब उपाधिका लागि जनकल्याण तमु समाज र माडी–८ बीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
