पोजनान (पोल्यान्ड): पोल्यान्डमा पहिलोपटक ‘नेपाल फेस्टिबल–२०२६’ आयोजना हुने भएको छ। आगामी जुलाई ११ मा पोजनानस्थित इम्पेरियल क्यासल (Imperial Castle) मा हुने महोत्सवको उद्देश्य नेपाली संस्कृति, कला, पर्यटन तथा मौलिक पहिचानलाई पोलिस तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउनु रहेको आयोजकले जनाएको छ।
हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा हुने महोत्सव बिहान ११:३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै पोल्यान्ड सरकारको सांस्कृतिक विभाग, नेपाल चेम्बर अफ कमर्स तथा विभिन्न सरकारी एवं सामाजिक संस्थाका प्रतिनिधिको पनि सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा पोजनानको सेन्त्रुम कुल्टुरे जामेकबाट नेपाली झण्डा, सांस्कृतिक झाँकी, मौलिक नृत्य, संगीत तथा परम्परागत पोशाकसहित नगर परिक्रमा गरिनेछ। त्यसपछि दोस्रो चरणमा इम्पेरियल क्यासलको मुख्य हलमा औपचारिक समारोह आयोजना गरिनेछ।
संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठका अनुसार महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र पर्यटन सम्भावनाबारे जानकारी गराउँदै नेपाल भ्रमणका लागि आकर्षित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन) ले महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरी व्यापक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार विदेशमा रहेका नेपालीलाई एकै ठाउँमा जोड्नुका साथै नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र परम्परासँग परिचित गराउनु पनि महोत्सवको प्रमुख उद्देश्य हो।
आयोजकले पोल्यान्डमा रहेका सबै नेपालीलाई राष्ट्रिय झण्डा तथा सम्भव भएसम्म नेपाली सांस्कृतिक पोशाकसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
सन् २०२१ मा पोल्यान्डको सरकारी निकायमा दर्ता भएको हामी नेपाली ग्लोबल पोल्यान्डले यो महोत्सवलाई प्रत्येक वर्ष पोल्यान्डका विभिन्न प्रमुख सहरमा आयोजना गर्दै नेपालको संस्कृति, पर्यटन र पहिचानको प्रवर्द्धन गर्ने योजना बनाएको जनाएको छ।
