विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्रगतिका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने तयारी गरेको हो ।
असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए भएका तर सञ्चालनमा आउन नसकेका आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ ।
आरसीओडी अवधि समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत पीपीएमा तोकिएका दायित्व पूरा गरेका वा तोकिएको समयभित्र पूरा गर्न सक्ने अवस्थामा रहेका आयोजना समूह ‘क’ मा पर्नेछन् ।
आरसीओडी सकिए पनि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन वा सबस्टेसन निर्माण सम्पन्न नगरेका कारण सञ्चालनमा आउन नसकेका आयोजना समूह ‘ख’ मा राखिनेछन् ।
त्यस्तै, काबुबाहिरको परिस्थिति (फोर्स मेजर)का कारण निर्माण प्रभावित भएको प्रमाणसहित निवेदन दिएका र प्राधिकरणबाट आरसीओडी थप स्वीकृत भएका आयोजना पनि यही समूहमा रहनेछन् ।
