वार्सा (पोल्यान्ड)। ISKCON Temple Warsaw ले पहिलोपटक आयोजना गरेको श्रीकृष्ण रथयात्रा शनिबार वार्साको वर्ल्ड टाउन क्षेत्रमा भव्य रूपमा सुरु भएको छ। रथयात्रामा पोल्यान्डमा रहेका नेपाली, भारतीय तथा विभिन्न देशका हिन्दु धर्मावलम्बीसँगै स्थानीय पोलिस नागरिकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
रथयात्राका क्रममा भगवान श्रीकृष्णको रथ नगर परिक्रमा गराइएको थियो भने सहभागीहरूले भजन–कीर्तन, हरिनाम संकीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।
आयोजक टोलीका अनुसार पोल्यान्डमा पहिलोपटक आयोजना गरिएको यस रथयात्राको मुख्य उद्देश्य स्थानीय पोलिस नागरिकलाई हिन्दु सनातन धर्म, यसको दर्शन, संस्कृति तथा आध्यात्मिक जीवनशैलीबारे जानकारी गराउनु र धार्मिक सहिष्णुता तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो।
आयोजकले आगामी वर्षहरूमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै पोल्यान्डमा हिन्दु सनातन धर्मको प्रचारप्रसारसँगै विभिन्न समुदायबीच आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने योजना रहेको जनाएको छ।
