निवृत्त शिक्षक समाज माडी नगर समितिले गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा माडीका पाँच जना निवृत्त शिक्षकलाई सम्मान गरेको छ।
शिक्षण पेशाबाट सेवा निवृत्त भई राष्ट्र र समाजको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका ७५ वर्ष उमेर पुगेका पाँच जना शिक्षकलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा माडी–३ निवासी नरेन्द्रराज श्रेष्ठ, माडी–७ निवासी राजेन्द्र बराल र शिवराज बराल, माडी–१ बरुवा निवासी राजमाया गुरुङ घले तथा माडी–९ गोविन्दबस्ती निवासी तोयनाथ अधिकारी रहेका छन्। उक्त जानकारी नेपाल निवृत्त शिक्षक समाज माडी नगर समितिका अध्यक्ष गंगाराम रानाभाटले दिनुभयो।
माडी क्याम्पसको सभाहलमा आयोजित सम्मान कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज जिल्ला समितिका सदस्य डिल्लीराम बराल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षकहरूले जीवनभर शिक्षा क्षेत्रमा पुर्याएको योगदान समाजका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी पुस्ताले पनि उहाँहरूको अनुभव र मार्गदर्शनबाट लाभ लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
