सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो ।
सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ” यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ ।
अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खट्नुभएका डा विजय पौडेल पहिले पहिले विषालु सर्पले टोकेका २५ प्रतिशतसम्मको मृत्यु हुने गरेको बताउनुहुन्छ ।
आव २०५९/०६० तिरको समयमा अस्पतालमा वर्षभरिमा ६०० हाराहारी सर्पदंशका बिरामी आउने गरेकोमा २५० हाराहारी विषालु सर्पले डसेका हुने गर्दथ्यो ।
अस्पतालमा आव २०६४/०६५ मा सघन उपचार कक्ष बनाएपछिका वर्षहरुमा सात प्रतिशत हाराहारीको निधन हुन थाल्यो । यो प्रतिशत क्रमशः घट्दै आएर २०७५ /०७६ मा पाँच प्रतिशतमा झरेको उहाँ बताउनुहुन्छ ।
