भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ ।
गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् ।
प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् ।
वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा. रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ । सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको छ ।
त्यसअघि पालो कुर्नका लागि भुइँमा ‘म्याट्रेस’मा राख्न बाध्य भएको उहाँले बताउनुभयो । चितवन सहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्दछ । अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरुको रोजाइ भरतपुर अस्पताल हुने गर्दछ ।
अस्पतालका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “अन्य मौसममा प्रसूति गराउन आउनेको सङ्ख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको छ ।” यही समयका लागि मात्रै शय्या व्यवस्थापन गर्न कठिन हुने भएकाले गर्भवतीले सहज सुविधा पाउन गाह्रो भएको उहाँले बताउनुभयो ।
वरिष्ठ प्रसूति रोग विशेषज्ञ सापकोटाका अनुसार असोज, कात्तिक महिनामा दसैँ र तिहार जस्ता पर्व मनाउन घरबाहिर रहेकाहरु घरमा आउने गर्दछन् । सोही समयमा गर्भ बसेकाहरुको यो समयमा सुत्केरी गर्दछ ।
