भरतपुर महानगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिकस्थल गणेशधाममा पहिलोपटक भव्य त्रिदिवसीय गणेश उत्सव–२०८३ आयोजना हुने भएको छ।
गणेश चतुर्थीको अवसर पारेर भदौ २९ देखि ३१ गतेसम्म विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित उत्सव आयोजना गर्न लागिएको हो।
गणेशधाम संरक्षण सम्वर्द्धन समितिका अनुसार उत्सवको पूर्वसन्ध्यामा भदौ २८ गते पूर्वाङ्ग कर्म तथा जलयात्रा गरिनेछ। भदौ २९ गते उत्सवमूर्तिको विधिपूर्वक स्थापना गरी विशेष पूजा–आराधना, गणेश महिमा प्रवचन, भजन–कीर्तन तथा आरती गरिनेछ। दोस्रो दिन भदौ ३० गते दुबो, लड्डु, समीपत्रलगायत भगवान् गणेशका प्रिय वस्तुबाट विशेष पूजा गरिने कार्यक्रम छ।
उत्सवको अन्तिम दिन भदौ ३१ गते समापन पूजा, पूर्णाहुति, अभिषेक तथा प्रसाद वितरणपछि साँझ बाजागाजासहित उत्सवमूर्तिको नगरपरिक्रमा गराई नारायणी नदीमा विसर्जन गरिने आयोजकले जनाएको छ। उत्सवका तीनै दिन विज्ञ आचार्यबाट गणेश महिमासम्बन्धी प्रवचन, भजन–कीर्तन तथा विशेष आरती सञ्चालन हुनेछन्।
गणेशधाम संरक्षण समितिका संस्थापक अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी ११ वटा उपसमितिमार्फत तयारी अघि बढाइएको छ। धार्मिक क्षेत्रका अगुवा गलेश्वर आश्रम देवघाटका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, हरिहर संन्यास आश्रम देवघाटका पीठाधीश तथा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीको प्रमुख संरक्षकत्वमा उत्सव सञ्चालन हुनेछ। प्रसिद्ध कथाव्यास माधुर्य कथावाचक बालकृष्ण अर्याल प्रमुख वाचक रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार गणेशधाम मध्यनेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो। नारायणी सप्तगण्डकीको तटवर्ती क्षेत्रमा अवस्थित यस धाममा रहेको प्राचीन गणेश मूर्तिलाई ऐतिहासिक तथा पुरातात्त्विक महत्वको मानिन्छ। स्थानीय धार्मिक इतिहासअनुसार पाल्पाली राजा मणिमुकुन्द सेनले समेत यस क्षेत्रमा आएर गणेशको पूजा गरेको उल्लेख पाइन्छ।
वि.सं. २०१३ पछि गणेशको प्राचीन शिला फेला परेपछि सालको रुखमुनि राखेर पूजा सुरु गरिएको र पछि उत्खननबाट प्राप्त ऐतिहासिक मूर्तिलाई व्यवस्थित रूपमा स्थापना गरिएसँगै यो क्षेत्र सिद्ध गणेशस्थानका रूपमा प्रसिद्ध हुँदै आएको समितिले जनाएको छ।
गणेशधामको दीर्घकालीन विकासका लागि वि.सं. २०७५ मा गुरुयोजना निर्माण गरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकासको काम अघि बढाइएको छ। नवजागृति र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा करिब २९.४७ हेक्टर क्षेत्रफल समेटेर तयार गरिएको गुरुयोजनाको अनुमानित लागत करिब ८० करोड रुपैयाँ रहेको जनाइएको छ।
गुरुयोजना कार्यान्वयनका लागि वि.सं. २०७५ मंसिर २२ देखि २९ गतेसम्म आयोजित धनधान्याञ्चल ज्ञानमहायज्ञ तथा आध्यात्मिक महोत्सवबाट बोलकबोलसहित करिब ११ करोड रुपैयाँ संकलन भएको थियो। दाताबाट प्राप्त रकम तथा सरकारी बजेटमार्फत गणेशधामको पूर्वाधार विकासका काम अघि बढिरहेको आयोजकको भनाइ छ।
यसै वर्षदेखि गणेश चतुर्थीका अवसरमा नियमित रूपमा गणेश उत्सव सुरु गर्न लागिएको समितिले जनाएको छ। धार्मिक आस्था, संस्कार, संस्कृति, सामाजिक एकता र धार्मिक पर्यटनलाई जोड दिने उद्देश्यले आयोजना गर्न लागिएको उत्सवलाई आयोजकले ‘देशकै नयाँ सामूहिक धार्मिक पर्व’ का रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
उत्सवमा धार्मिक तथा सामाजिक संघसंस्था, टोल विकास समिति, आमा समूह, सत्सङ्ग परिवार, सन्त–महन्त, गुरुजन, श्रद्धालु तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक समितिले गणेश उत्सवलाई सफल बनाउन धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारगृह, पत्रकार, श्रद्धालु र आम नागरिकलाई सहभागिता तथा सहयोगका लागि आह्वान गरेको छ।
