विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नेतृत्व, उद्यमशीलता र व्यावसायिक जीवनका लागि तयार गर्ने उद्देश्यले चितवनको आरम्भ कलेजले ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ आयोजना गरेको छ।
विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास, व्यक्तित्व विकास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित समिटमा वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना निर्माण, स्टार्टअप तथा उद्यमशीलता, रणनीतिक व्यवस्थापन र सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा बोल्ने कलालगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
समिटमा विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सक्रिय विज्ञ तथा अनुभवी व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्दै नेतृत्व, नवप्रवर्तन, उद्यमशीलता र व्यावसायिक विकासका व्यवहारिक पक्षबारे ज्ञान तथा अनुभव लिएका थिए।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल र चितवनका पहिलो आवाज मनोज पन्तले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बदलिँदो प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीलाई भविष्यका लागि तयार गर्न यस्ता व्यवहारिक कार्यक्रम आवश्यक रहेको बताए। समिटले विद्यार्थीमा नेतृत्व गर्ने क्षमता, आत्मविश्वास र सिर्जनात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
“विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता हो,” प्रिन्सिपल शिवाकोटीले भने।
समिटमा सहभागी विद्यार्थीलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रमले विद्यार्थीलाई ‘रोजगारी खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने सोच’ तर्फ प्रेरित गरेको आयोजकको विश्वास छ।
