विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार विस्तार भइरहेका बेला टिभिएसले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’ भित्र्याएको छ। दैनिक आवतजावतलाई सहज बनाउनेदेखि स्मार्ट प्रविधिको प्रयोगसम्मलाई प्राथमिकता दिइएको अर्बिटरलाई नेपाली सडक र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।
विक्रेता मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले टिभिएस आईक्युबले नेपाली बजारमा पाएको सफलतापछि अर्बिटरले पनि कम्पनीको विद्युतीय दुईपाङ्ग्रे बजारमा उपस्थिति थप बलियो बनाउने विश्वास व्यक्त गरे।
उनका अनुसार देशभर विस्तार भएको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई स्कुटर खरिददेखि बिक्रीपछिको सेवासम्म सहज सुविधा उपलब्ध गराइनेछ।
जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली बजार, सडकको अवस्था र दैनिक प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राखेर अर्बिटरको विकास तथा परीक्षण गरिएको बताए। आधुनिक डिजाइनसँगै उपयोगी प्रविधि, सुविधा र भरपर्दो कार्यसम्पादनलाई स्कुटरमा प्राथमिकता दिइएको उनको भनाइ छ।
अर्बिटरमा मोबाइल एपमार्फत ब्याट्रीको अवस्था तथा ओडोमिटर हेर्न सकिने सुविधा छ। त्यस्तै टर्न–बाइ–टर्न नेभिगेसन, एलसीडी डिजिटल क्लस्टरमा कल तथा एसएमएस सूचना, जियो–फेन्सिङ, चोरी तथा दुर्घटना अलर्ट, पार्किङ असिस्ट र क्रुज कन्ट्रोलजस्ता स्मार्ट फिचर समावेश गरिएको छ।
स्कुटरमा हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडसमेत उपलब्ध छन्। सफ्टवेयरलाई थप सहज बनाउन ओटीए अपडेटको सुविधा पनि राखिएको कम्पनीले जनाएको छ।
दैनिक प्रयोगलाई ध्यानमा राखेर अर्बिटरमा ८४५ मिलिमिटर लामो फ्ल्याट सिट र २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्ड दिइएको छ। दुईवटा हेल्मेट अट्ने ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज, १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट, यूएसबी चार्जिङ पोर्ट तथा मजबुत बडी संरचना यसको थप विशेषता हुन्।
टिभिएस अर्बिटर निओन सनबस्र्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा नेपाली बजारमा उपलब्ध हुनेछ। कम्पनीले यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ।
स्मार्ट प्रविधि, पर्याप्त स्टोरेज र नेपाली सडक सुहाउँदो डिजाइनलाई एउटै प्याकेजमा प्रस्तुत गरेको अर्बिटरले बढ्दो विद्युतीय स्कुटर बजारमा टिभिएसको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
