किसानले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणलाई सहज बनाउँदै उपभोक्तालाई शुद्ध र गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले भरतपुर–१२ टाउन चोकमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा ल्याएको छ।
सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको मार्टले स्थानीय उपभोक्तालाई किसानबाट संकलित दूधबाट उत्पादित दही, घिउ, पनिर, नौनीलगायतका विभिन्न दुग्धजन्य परिकार सहज रूपमा उपलब्ध गराउने जनाएको छ।
मार्ट उद्घाटन गर्दै भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्त (हरि)ले स्थानीय किसानले उत्पादन गरेका दुग्धजन्य वस्तुको बजार सुनिश्चित गर्न डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने बताए। किसानलाई उचित मूल्य दिलाउनुका साथै स्थानीय उपभोक्ताले शुद्ध र स्वास्थ्यवद्र्धक उत्पादन प्रयोग गर्ने अवसर पाउने उनको भनाइ छ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको उत्पादनको बजारीकरण र उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर मार्ट विस्तार गरिएको बताए। यसअघि सञ्चालनमा रहेका शाखाबाट प्राप्त विश्वास र सकारात्मक प्रतिक्रियाले थप शाखा विस्तार गर्न प्रेरणा मिलेको उनले बताए।
‘किसानले उत्पादन गरेको दूधको बजारीकरण सुनिश्चित गर्दै उपभोक्तालाई गुणस्तरीय र मिसावटमुक्त दुग्धजन्य पदार्थ उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,’ अध्यक्ष बगालेले भने, ‘आगामी दिनमा पनि गुणस्तरमा सम्झौता नगरी सेवा विस्तार गर्दै जानेछौँ।’
नयाँ शाखामा दूध, दही, घिउ, पनिर, नौनीलगायतका उत्पादन उपलब्ध छन्। संघका अनुसार नौनी घिउ प्रतिकिलो ९ सय रुपैयाँ र घिउ प्रतिलिटर १ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ।
टाउन टोल विकास संस्थाकी अध्यक्ष गायत्री श्रेष्ठले स्थानीयस्तरमै गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध हुनु उपभोक्ताका लागि सहज भएको बताउँदै सर्वसुलभ मूल्य र गुणस्तर कायम राख्न आग्रह गरिन्।
संघले डेरी मार्टमार्फत ‘किसानको उत्पादन–उपभोक्ताको भान्सा’ बीचको दूरी घटाउँदै दुग्ध उत्पादनको व्यवस्थित बजारीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
