चितवनको भरतपुर–२८, गोलाघाटमा सुविधा सम्पन्न ‘सि डोङ्ग होटल’ सञ्चालनमा आएको छ। स्थानीय मौलिक स्वाद, अर्गानिक परिकार र पर्यटकीय वातावरणका कारण छोटो समयमै होटल स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ।
होटलका सञ्चालक शिव लामाले करिब १० लाख रुपैयाँ लगानीमा होटल सञ्चालनमा ल्याएका हुन्। गोलाघाट क्षेत्रमा होटल सञ्चालनका लागि आवश्यक जग्गा पाँच वर्षका लागि लिजमा लिएर उनले व्यवसाय सुरु गरेका हुन्। होटल सञ्चालनमा आएको सात महिना मात्रै भए पनि ग्राहकको आकर्षण बढ्दै गएको लामाले बताए।
सि डोङ्ग होटलमा स्थानीय जातका कुखुरा, हाँस, माछा, घोंगीलगायतका मौलिक परिकार उपलब्ध छन्। त्यस्तै, स्थानीय तथा अर्गानिक तरकारी र अन्नबाट तयार गरिएका विभिन्न परिकारले होटललाई अन्यभन्दा फरक पहिचान दिएको छ।
होटलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएकाले पर्यटकले चितवनको मौलिक स्वादसँगै स्थानीय खानाको अनुभव लिन पाउने सञ्चालक लामाको भनाइ छ। प्राकृतिक सौन्दर्य र पर्यटकीय गतिविधिका लागि प्रसिद्ध मेघौली–गोलाघाट क्षेत्र घुम्न आउने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालन गरिएको उनले बताए।
भरतपुर–५, टाइगरचोक निवासी लामा होटल व्यवसायमा लामो अनुभव भएका व्यवसायी हुन्। आफ्नो अनुभवलाई स्थानीय पर्यटनसँग जोड्दै गोलाघाटमा नयाँ अवधारणासहित होटल सञ्चालन गरेको उनले बताए।
हाल होटलमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय उत्पादनको प्रयोग र रोजगारी सिर्जनासँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले व्यवसाय अघि बढाइएको सञ्चालक लामाले बताए।
गोलाघाट चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अवस्थामा स्थानीय स्वाद, प्राकृतिक वातावरण र आतिथ्यलाई एउटै ठाउँमा जोड्ने सि डोङ्ग होटलको प्रयासले क्षेत्रीय पर्यटन व्यवसायलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
