बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने भएका छन् ।
मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहित एमाले प्रदेश संसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
सहमति लगत्तै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी छ । यसअघि दलको नेता परिवर्तन गरी पूर्वस्वास्थ्य मन्त्री समेत रहेका किरण थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरू भएको थियो भने,प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नै नयाँ मुख्यमन्त्री नियुक्तको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समयअवधि दिएका थिए । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमति अनुसार बागमतीमा नयाँ सरकारको नेतृत्व एमालेले गर्ने भनिए पनि एमालेभित्र मुख्यमन्त्रीको पदका लागि आन्तरिक टकराप हुँदा एमालेले मुख्यमन्त्रीको टुङ्को लगाएको थिएन ।
बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट,नेकपा एमालेको २५ सिट छ । अन्य साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । प्रदेशसभामा निर्वाचित ११० जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय छ ।
बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ । एमाले र नेकपा मिलेर ९५१ सांसद सरकार बनाउँदा २ सिट अपुग हुन्छ । बहुमत पुर्याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनुपर्नेछ ।
