गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले माडीलाई ‘सेतो माडी’का रूपमा विकास गर्दै खोरेटमुक्त क्षेत्र बनाउने लक्ष्य रहेको बताउनुभएको छ।
माडी नगरपालिका–३, बसन्तपुरमा ‘गंगानगर डेरी मार्ट’ सञ्चालनमा ल्याइएको जानकारी दिँदै सापकोटाले माडीमा दुग्ध उत्पादन तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानले उत्पादन गरेको दूधको समयमै भुक्तानी सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले उपभोक्तालाई शुद्ध र गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराउन दूध प्रशोधन केन्द्र स्थापना, खाद्य गुणस्तर प्रमाणीकरण र व्यवस्थित बजारीकरणलाई प्राथमिकतामा राखिने बताउनुभयो।
डेरी मार्ट सञ्चालनसँगै स्थानीय किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुने र दुग्ध उत्पादनलाई व्यावसायिक तथा व्यवस्थित बनाउन थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
माडीमा पशुपालन तथा दुग्ध उत्पादनको सम्भावना उच्च रहेकाले किसानलाई उत्पादनसँग जोड्दै बजारको सुनिश्चितता गर्न सके स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिने सरोकारवालाहरूको विश्वास छ।
