वर्षायामसँगै बाढी, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै कालिका नगरपालिकाले नगरवासीलाई सम्भावित विपद्बाट जोगिन पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नदी किनारमा घर–गोठ नबनाउन, घरछेउका खोला तथा नदीमा समयमै तटबन्ध निर्माण गर्न र वर्षायाममा मौसम तथा बाढीसम्बन्धी सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको हो।
नगरपालिकाले बाढी तथा वर्षाको अवस्थाबारे टोल फ्री नम्बर ११५५ तथा रेडियो–टेलिभिजनमार्फत प्राप्त हुने सूचनालाई ध्यान दिन अनुरोध गरेको छ। नदीमा पानीको सतह बढेको, डुबानको अवस्था तथा तटबन्धको अवस्थाबारे समेत नियमित जानकारी लिन नगरवासीलाई आग्रह गरिएको छ।
सम्भावित विपद्का बेला तत्काल उद्धार तथा सहयोगका लागि प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सका सम्पर्क नम्बर मोबाइलमा सुरक्षित राख्न पनि नगरपालिकाले अनुरोध गरेको छ। स्थानीयस्तरमा रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस तथा प्राथमिक उपचारका सामग्रीको जोहो गरी सुरक्षित राख्नसमेत भनिएको छ।
त्यसैगरी, आपत्कालीन अवस्थाका लागि अन्न, दाल, नुन, तेल, साबुनलगायत अत्यावश्यक सामग्री घरको सुरक्षित तथा अग्लो स्थानमा राख्न नगरपालिकाले सुझाव दिएको छ। नागरिकता, लालपुर्जा, लाइसेन्स, पासपोर्टजस्ता महत्वपूर्ण कागजात तथा औषधिलाई प्लास्टिकमा सुरक्षित प्याक गरी घरको अग्लो स्थानमा राख्न आग्रह गरिएको छ।
बाढी तथा विपद्को समयमा आवश्यक पर्ने टर्च, डोरी, सिठी, लौरोलगायतका सामग्री सजिलै भेटिने स्थानमा तयारी अवस्थामा राख्न पनि नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले सम्भावित विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सके मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने जनाएको छ। विपद् व्यवस्थापनमा स्थानीय सरकारसँगै समुदाय र नागरिकको समेत महत्वपूर्ण भूमिका रहने भएकाले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।
कालिका नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रेडक्रसचोक, कालिका, चितवनले जारी गरेको सूचनामा ‘सतर्क बनौँ, सुरक्षित बनौँ’ भन्ने सन्देशसहित बाढीबाट जोगिन पूर्वतयारीलाई प्राथमिकता दिन आह्वान गरिएको छ।
