लामो समयदेखि खानेपानीको महसुल नतिर्ने ग्राहकविरुद्ध कडाइ थालेपछि भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पाँच महिनामै एक करोड ५५ लाख रुपैयाँभन्दा बढी बक्यौता असुल गरेको छ।
बोर्डले चालु आर्थिक वर्षको फागुनदेखि असारसम्म पाँच हजार रुपैयाँभन्दा बढी बक्यौता रहेका तथा छ महिनाभन्दा लामो समयदेखि महसुल नतिरेका एक हजार ५०३ ग्राहकबाट एक करोड ५५ लाख तीन हजार ६८५ रुपैयाँ असुल गरेको हो।
बक्यौता असुलीका लागि बोर्डले पत्राचार, घरदैलो, एसएमएस तथा प्रत्यक्ष ताकेतासँगै अटेर गर्ने ग्राहकको खानेपानीको लाइन काट्ने कारबाहीसमेत अघि बढाएको छ। बोर्डका प्रमुख सञ्जय बरालका अनुसार बक्यौता उठाउन छुट्टै टोली परिचालन गरिएको छ।
अभियानपछि पनि करिब ५०० ग्राहकबाट २० लाख रुपैयाँ हाराहारी बक्यौता उठाउन बाँकी रहेको बोर्डले जनाएको छ।
यसैबीच, भरतपुर महानगरपालिकाले सात युनिटसम्मको खानेपानीमा दिने अनुदान रकमसमेत समयमै नपाउँदा बोर्डमाथि आर्थिक दबाब बढेको छ। गत मङ्सिरदेखि रोकिएको अनुदान एक करोड रुपैयाँभन्दा बढी पुगेको बोर्डको भनाइ छ।
बोर्डले ग्राहकलाई समयमै महसुल बुझाएर बक्यौता बढ्न नदिन आग्रह गरेको छ।
