अजित अधिकारी
भरतपुर । उच्च शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने यात्रामा सीमित नराखी विद्यार्थीको ज्ञान, सीप, सोच र सम्भावनालाई उजागर गर्ने अभियानमा भरतपुर–११ स्थित आरम्भ कलेज अघि बढेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक दक्षतालाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई भविष्यका लागि तयार गरिरहेको छ।
विद्यार्थीलाई बदलिँदो प्रतिस्पर्धात्मक विश्वमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने उद्देश्यले कलेजले स्टार्टअप तथा उद्यमशीलता, रणनीतिक व्यवस्थापन, सार्वजनिक कार्यक्रममा प्रभावकारी प्रस्तुति तथा नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षण र संवाद कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस्ता कार्यक्रममा विद्यार्थीले विभिन्न क्षेत्रमा सक्रिय विज्ञ तथा अनुभवी व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउँछन्। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल र चितवनका पहिलो आवाजका मनोज पन्तले विद्यार्थीलाई प्रशिक्षण तथा व्यावहारिक अनुभव आदानप्रदान गरेका थिए।
वक्ताहरूले डिग्रीसँगै व्यवहारिक ज्ञान, सिर्जनात्मक सोच, नेतृत्व क्षमता र उद्यमशील मानसिकता आजको पुस्ताका लागि अपरिहार्य रहेकोमा जोड दिएका थिए। विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी आफैं अवसर सिर्जना गर्न सक्ने आत्मनिर्भर युवाका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक जीवन र पेशागत क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आरम्भको मुख्य प्राथमिकता हो। “विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने।
उत्कृष्ट नतिजाले थपिएको आत्मविश्वास
व्यावहारिक शिक्षासँगै आरम्भले शैक्षिक उपलब्धिमा पनि आफूलाई अब्बल साबित गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत BHM र BITM चौथो सेमेस्टरको परीक्षामा आरम्भका विद्यार्थीले उत्कृष्ट SGPA हासिल गर्दै चितवनमै जिल्ला टपरको पहिचान बनाएका छन्।
BHMतर्फ सन्ध्या गोले ३.८८ SGPA सहित जिल्ला प्रथम, नेबिका मैनाली ३.८३ सहित दोस्रो र ङवाङ बामजान तामाङ ३.८० सहित तेस्रो भए। त्यसैगरी BITMतर्फ ओजस्वी आचार्य ३.८३ SGPA सहित जिल्ला प्रथम, अङ्गिता अधिकारी ३.८१ सहित दोस्रो र बिपल श्रेष्ठ ३.७४ सहित तेस्रो स्थानमा रहे।
कलेजले व्यवस्थापन संकायअन्तर्गत ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM) र ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (BITM) सञ्चालन गर्दै आएको छ। अनुभवी शिक्षक, आधुनिक पूर्वाधार, विद्यार्थीमैत्री वातावरण र व्यवहारिक शिक्षण पद्धतिलाई आफ्नो शैक्षिक यात्राको आधार बनाएको कलेजले जनाएको छ।
अबको लक्ष्य—त्रिवि प्रथम र स्वर्णपदक
स्थापनादेखि हालसम्म विद्यार्थीले हासिल गरेको शैक्षिक उपलब्धिले आफूहरू उत्साहित भएको प्रिन्सिपल शिवाकोटी बताउँछन्। उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै अबको लक्ष्य त्रिभुवन विश्वविद्यालयमै प्रथम हुने विद्यार्थी उत्पादन गरी स्वर्णपदकसम्मको यात्रा तय गर्नु रहेको उनको भनाइ छ।
BHM अध्ययन गर्ने विद्यार्थीका लागि अन्तिम वर्षका दुई सेमेस्टरमा इन्टर्नसिपको व्यवस्था गरिएको छ। विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको होटल उद्योगको अनुभव दिलाउने उद्देश्यले अमेरिकाका ४३ वटा पाँचतारे होटलसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको शिवाकोटीले जानकारी दिए।
यसले विद्यार्थीलाई कलेजको कक्षाकोठाबाटै अन्तर्राष्ट्रिय व्यावसायिक संसारसँग जोडिने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। आरम्भका लागि शिक्षा भनेको केवल परीक्षा उत्तीर्ण गरेर डिग्री हात पार्नु होइन; ज्ञानलाई सीपमा, सीपलाई आत्मविश्वासमा र आत्मविश्वासलाई सम्भावनामा बदल्ने प्रक्रिया हो। यही सोचका साथ कलेजले विद्यार्थीलाई भविष्यमा रोजगारी खोज्नेभन्दा अवसर सिर्जना गर्ने, नेतृत्व पछ्याउनेभन्दा नेतृत्व गर्ने र सपना देख्ने मात्र होइन, त्यसलाई आकार दिन सक्ने पुस्ताका रूपमा तयार गर्ने लक्ष्य अघि सारेको छ।
विद्यार्थीको पछिल्लो शैक्षिक सफलता र व्यवहारिक सिकाइका कार्यक्रमले आरम्भ कलेज चितवनमा उच्च शिक्षाको नयाँ सम्भावना बोकेको शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।
