अजित अधिकारी
भरतपुर। लेखक कृष्ण विभूतिको उपन्यास ‘मन्द मुस्कान’ प्रेम, विछोड, स्मृति, त्याग र मानवीय मनोविज्ञानका सूक्ष्म अनुभूतिलाई केन्द्रमा राखिएको कृति हो ।
शिखा बुक्सबाट प्रकाशित यो उपन्यासले प्रेमलाई केवल मिलनको विषयका रूपमा नभई आत्मीयता, प्रतीक्षा, पीडा र मौन त्यागसँग जोडेर प्रस्तुत गरेको छ ।
उपन्यासको आरम्भमै लेखकले यसलाई केवल प्रेमकथा नभई मानवीय हृदयको गहिराइसम्म पुग्ने मौन यात्राका रूपमा व्याख्या गरेका छन् । लेखनका क्रममा स्मृति र कल्पनाबीचको सीमारेखा धमिलो हुँदै गएको तथा कथाका पात्रहरू आफ्नै भित्री अनुभूति, अधुरा संवाद र समयले मेट्न नसकेका भावनाका प्रतिध्वनि बनेको लेखकको भनाइ छ ।
‘मन्द मुस्कान’ मा प्रेमको एउटा गहिरो पक्षलाई उठाइएको छ—साँचो प्रेम सधैँ मिलनमा मात्र पूरा हुँदैन । परिस्थितिले मानिसलाई फरक सम्बन्ध र जिम्मेवारीमा बाँध्न सक्छ, तर मनभित्रको प्रेम, सम्झना र आत्मीयता त्यत्तिकै सहजै मेटिँदैन । यही भावनालाई पात्रहरूको जीवन, उनीहरूले भोगेका दूरी, मौनता, संघर्ष र त्यागमार्फत कथामा प्रस्तुत गरिएको छ ।
लेखकका अनुसार मानिसको जीवन केवल परिस्थितिहरूको क्रम होइन, अनुभूतिहरूको संग्रह पनि हो । भेट, विछोड, आशा, निराशा र सम्झनाले मानिसलाई निरन्तर बदलिरहेको हुन्छ । यही मानवीय अनुभूतिलाई कथात्मक रूपमा प्रस्तुत गरिएकाले पाठकले उपन्यासका पात्र र घटनामा आफ्नै जीवनका कुनै पुराना स्मृति, अधुरा भावना वा मौन पीडाको अंश भेट्न सक्ने देखिन्छ ।
कृष्ण विभूतिको यो कृति मनोवैज्ञानिक आत्मकथा ‘मेरी आमा’ पछि प्रकाशित अर्को महत्वपूर्ण साहित्यिक प्रयास हो । उहाँको ‘मेरी आमा’ वि.सं. २०७१ मा प्रकाशित भएको थियो भने ‘कुक बुक (किचन म्यानेजमेन्ट)’ पनि उहाँको प्रकाशित कृतिमध्ये एक हो ।
‘मन्द मुस्कान’ उपन्यासको भाषा सम्पादन सूर्यप्रकाश कँडेलले गरेका छन् । शिखा बुक्स प्रकाशक रहेको पुस्तकको वितरण ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा.लि.ले गरेको छ । वि.सं. २०८३ मा पहिलो संस्करणका रूपमा प्रकाशित उपन्यासको मूल्य रु. ५२५ तोकिएको छ ।
प्रेमलाई भाग्यसँगको संघर्ष, मौनताभित्रको संवाद र स्मृतिमा बाँचेको सम्बन्धका रूपमा प्रस्तुत गर्ने ‘मन्द मुस्कान’ प्रेमकथाभन्दा माथि उठेर मानवीय मनको गहिराइ बुझ्ने प्रयासका रूपमा आएको छ । प्रेम, विछोड र जीवनका अधुरा पानासँग जोडिएका पाठकका लागि यो कृति आत्मीय अनुभूति बन्न सक्ने देखिन्छ ।
