माडी र भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर सडकखण्ड पक्की सडकका रूपमा स्तरोन्नति गर्ने विषयमा सार्वजनिक सुनुवाइ गरिएको छ।
हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौंको आयोजनामा जगतपुरस्थित केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा भएको सुनुवाइमा स्थानीयले वर्षौंदेखिको सडक समस्या समाधान गर्दै निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।
सहभागीहरूले निकुञ्ज क्षेत्रका कारण विकास निर्माणमा देखिँदै आएको अवरोध हटाई माडी र भरतपुरबीचको यातायातलाई सहज र सुरक्षित बनाउन सडक स्तरोन्नति आवश्यक रहेको बताएका थिए।
भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीको सहजीकरणमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतोसहित जनप्रतिनिधि, युवा तथा सयौं स्थानीयवासीको सहभागिता थियो।
प्रस्तावअनुसार ७.८१३ किलोमिटर सडकमा १२ मिटर फर्मेशन चौडाइ, ७ मिटर गाडी गुड्ने भाग र दुवैतर्फ २.५–२.५ मिटर सोल्जर रहनेछ। सडकको डिजाइन गति प्रतिघण्टा ४० किलोमिटर प्रस्ताव गरिएको छ।
माडीलाई भरतपुरसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको यो सडक पक्की बनेपछि स्थानीय आवागमनसँगै पर्यटन र आर्थिक गतिविधिमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
