राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्का बेला उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेका छन्।
उनले समयमै आवश्यक उपकरण र उद्धार टोली परिचालन गर्न सकेको भए धेरै नागरिकको ज्यान बचाउन सकिने दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर नागरिकको उद्धार, बेपत्ताको खोजी र पीडितलाई राहत दिन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।
‘यो समय आरोप–प्रत्यारोप गर्ने होइन, नागरिकलाई कसरी बचाउने, बेपत्ताको खोजी कसरी गर्ने र पीडितको आँसु कसरी पुछ्ने भन्ने हो,’ उनले भने, ‘हामी सरकारको साथमा छौँ र काँधमा काँध मिलाएर काम गर्न तयार छौँ।’
तर, उनले रसुवास्थित चिलिमे सुरुङमा फसेका नागरिकको उद्धारमा राज्य संयन्त्रले पर्याप्त तदारुकता नदेखाएको आरोप लगाए। बाढी आएको दिन दिउँसो २ बजेसम्म आफू गृह मन्त्रालय पुगेर सुरुङभित्र मानिसहरू रहेको र उनीहरूको सम्पर्क नम्बरसमेत विपद् व्यवस्थापन शाखालाई उपलब्ध गराएको उनले बताए। गृहमन्त्रीलाई समेत जानकारी गराउँदा समयमै सुनुवाइ नभएको उनको दाबी छ।
शाहीका अनुसार सुरुङमा ७२ घण्टापछि मात्रै अनुगमन टोली पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पुगेको थियो। उक्त उद्धार टोलीसमेत सरकारको नभई आफूहरूले पठाएका पर्वतारोही रहेको उनले बताए।
उद्धारका लागि आवश्यक मिनी स्काभेटर समयमै उपलब्ध नगराइएको विषयलाई उनले सरकारको गम्भीर कमजोरीका रूपमा प्रस्तुत गरे। सामान्य अवस्थामा नेपाल वा छिमेकी मुलुकबाट विमानमार्फत पाँच घण्टाभित्र उपकरण ल्याउन सकिने भए पनि २४, ४८, ९६ र १४४ घण्टापछि मात्रै मिनी स्काभेटर उपलब्ध भएको उनको दाबी छ।
