आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्छ भन्नुभयो ।
“वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ, तर अत्यधिक डराउनुपर्ने अवस्था देखिएको छैन,” उहाँले भन्नुभयो, “मौसम छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेका छौँ र यसको प्रभावबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जानेछौँ ।”
उहाँका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको छ । उक्त प्रणालीका कारण जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढेको उहाँले बताउनुभयो ।
हाल कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म सामान्यतया बादल लागेको र गण्डकीको पूर्वी भू–भाग, लुम्बिनी, बागमती, कोशी तथा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको तथा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको छ । ती क्षेत्रमा अधिकतम करिब १६४ मिलिमिटरसम्म वर्षा भएको उहाँको भनाइ छ ।
