चितवनमा भ्रष्टाचार विरुद्ध अभियानकाे अन्तरक्रिया
भ्रष्टाचार विरुद्ध अभियान चितवनले बुधबार एकदिने अन्तरक्रिया गरेको छ । ‘भ्रष्टाचार विरुद्ध एकजुट होऔं ।” ”नगरौं, नगराउँ, नसहौं भ्रष्टाचार, देशका लागि अति उत्तम हो सदाचार” भन्ने नाराका साथ आज बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा अभियानले सुशासन र सदाचार प्रबर्द्धनमा राजनीतिक दलहरुको भूमिका विषयकमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अभियानका उपाध्यक्ष ईश्वरीराज लौंडारीले राजनीतिक दलहरु परिवारबाद तर्फ अन्मुख बनेको बताउनुभयो । त्यस्तै उहाँले भ्रष्टाचारमा शुन्य सहनशीलताको बिकास गराउनुपर्ने तर्क गर्दै लौंडारीले सरकारी विद्यालय र कलेजहरुमा समेत राजनीति र भ्रष्टाचार बढेको गुनासो गर्नुभयो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान समितिका संयोजक एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका कारणले नै भ्रष्टाचार बढेको बताउनुभयो । राजनीतिक दलका नेताहरु प्राथमिकताको आधारमा भन्दापनि पक्षधरतर्फ उद्धत बनेको प्रतिक्रिया दिनुभयो । त्यस्तै केसीले भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गराउन आजैदेखि राजनीतिक दल र अन्य सरोकारवाला निकायहरु लाग्नुपर्ने बिचार राख्नुभयो ।
कार्यक्रममा स्थानीय निकायहरुमा हुने आर्थिक र नीतिगत भ्रष्टाचारका बारेमा बढिरहेको बिकृत रुपका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सुशासन र सदाचार निर्माण गर्न राजनीतिक दलका नेताहरू चुकेको र नीतिगत तथा आर्थिक भ्रष्टाचारमा लिप्त रहेको धारणा राखेका थिए । यसैगरी स्थानीय निकायमा हुने भ्रष्टाचारले समाजलाई दुर्गन्धित बनाएको तर्क गर्दै यसको समाधानमा सबै राजनीतिक दलका नेताहरु जिम्मेवारी बन्नुपर्ने तर्क गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण प्रसाद भुसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका नेता जीवलाल पुरी लगायतका विभिन्न दलका नेता कार्यकर्ता तथा विभिन्न निकायमा आबद्ध सामाजिक व्यक्तित्व, शिक्षक पत्रकारहरुको सहभागीता रहेको थियो ।