चितवनमा बिक्रम बाबा मेला आजदेखि सुरु भएको छ । सो मेला आउँदो बैशाख ११ गतेसम्म संचालन हुनेछ । जगतपुर र कसराको बीच सेक्टर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुन र खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गर्नुभएको हो ।
चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्दै आइरहेको छ । मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु रहनुका साथै बनभोज स्थलको समेत व्यवस्था गरिएको छ ।
विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुका लागि राप्ती नदीमा डुङ्गाको ब्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो । जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ । साथै मेलामा आउने भक्तजनहरुको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा लागू गरेको प्रमुख सेनानी एवं गणपति विकास अधिकारीले बताउनुभयो ।
विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबाको दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।
बिक्रम बाबाको पुजा एक शताब्दी भन्दा पहिल्यैदेखि चलिआएको बुझिन्छ । चि.रा.नि. भित्र कसरा दरवार नजिकै बिक्रम बाबाको स्थान रहेको छ । यहाँका आदिवासीहरु थारु तथा बोटे सबै जातिहरुको बाबाप्रति निकै ठूलो श्रद्धा र बिश्वास रहेको छ ।
#PRD801226 #BikramBabaMela