औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ को नेपाल सरकारका उद्योगमन्त्रीबाट उद्घाटन हुने भएकाे छ ।
भरतपुर उद्योग संघ, चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा भाेलि बैशाख ७ गते शुक्रबार देखि ११ गतेसम्म सञ्चालन हुने प्रर्दशनी मेलाको नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यूद्वारा समुद्घाटन हुने आयाेजकले जनाएकाे छ ।
चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा सञ्चालन हुन लागेको “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव आयाेजना गरिएकाे आयाेजकले जनाएको छ ।
स्वदेशी तथा विदेशी गरी २५००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करीब १५० स्टलहरु रहनेछन् ।