असार २८ गते सिमलताल पहिरोमा परेकाहरूको शव सजिलै भेट्ने अवस्था नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले बताउनुभएको छ ।
Advertisement
दुर्घटनाको अध्ययन गर्न चितवन आएको नेपाल सरकारबाट गठित समितिलाई बुधबार सम्बोधन गर्दै सिडिओ यादवले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सजिलै शव भेट्ने अवस्था छैन। धेरै दिन भएकाले अब शव भेटिएपनि सनाखत हुन कठिन छ।’ उहाँका अनुसार भेटिएका शवहरू गल्न थालेका छन् ।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र. ०३–००६ ख १५१६ नम्बरका बस २८ असारमा चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए। बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए।