मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ । साथै क्याम्पसले आफ्नो अक्षयकोषका अतिरिक्त विश्वविद्यालय अनुदान आयोग र बागमती प्रदेश सरकारद्वारा प्रदान गर्ने छात्रवृत्ति पनि प्रदान गरिरहेको छ ।
ती निकायले छात्रवृत्तिमा छोरीबुहारीहरुलाई प्राथमिकता दिएपछि क्याम्पसमा २५ प्रतिशतभन्दा बढी विद्यार्थीले विभिन्न तहका छात्रवृत्ति पाएका हुन् । क्याम्पसका प्राचार्य भोजराज न्यौपाने क्याम्पसमा पढ्न चाहने जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावका कारण पढ्न नरोकिएको बताउनुभयो ।
उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव गरिएअनुसार अत्यावश्यक विद्यार्थीका लागि छात्रवृत्ति प्राप्त हुने गरेको छ । वार्षिक ५० जनाभन्दा बढीले आयोगबाट प्रत्यक्ष रुपमा छाात्रवृत्ति पाउने गरेका छन् ।
बागमती प्रदेश सरकारले दिएको छोरीबुहारी छात्रवृत्ति कार्यक्रमबाट २६ जना लाभान्वित भएका छन् । क्याम्पसमा कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको पठनपाठन हुन्छ । कक्षा १२ मा दुई सय ६१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा भर्ना हुने क्रम जारी छ ।
स्नातकमा शिक्षा र व्यवस्थापन सङ्कायमा सात सय विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तरका यिनै दुई सङ्कायमा दुई सय हाराहारी विद्यार्थी अध्ययनरत छन् ।