राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताउनुभयो ।
दुई देशबीचका राष्ट्रपतिज्यका तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरूको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउने बताउनुभयो ।
चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो ।
बिआरआइलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताउनुभयो ।
नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरूको ठूलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सञ्चालन गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।