न्यायका लागि सक्रिय महिला मंच चितवनले आज एक कार्यक्रमकाबीच जैविक उद्योगको प्रवर्द्धनमा जोडदिन माग गरेको छ ।
भरतपुर १८ स्थित भुवनबस्तीमा आज भएको उक्त कार्यक्रममा न्यायका लागि सक्रिय मंच र राधा पौडेल फाउन्डेसनले जनप्रतिनिधिबीचको अन्तरक्रिया कार्यक्रममा उक्त माग राखेको हो ।
सोही क्षेत्रमा संचालित मितेरी जैविक प्याड उत्पादन केन्द्र र न्यायका लागि सक्रिय महिला मंच चितवनको संयुक्त आयोजनामा उद्योगको प्रवर्द्धन र मर्यादित महिनावारीका बारेमा एकदिने अन्तरक्रिया गरिएको हो ।
भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा टोलका विभिन्न आमा समूहहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै वडाध्यक्ष रानामगरले जैविक उद्योग प्रबर्द्धनमा वडाले जोडदिदै आएको बताउनुभएको छ । सीप र क्षमताको बिकास गर्दै महिलाहरूका लागि उद्यमशिलताको कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।
जैविक प्याड लगाऔं, स्वास्थ्य र धर्ती बचाऔं भन्ने नाराका साथ गरिएको कार्यक्रममा स्वदेशमा नै उत्पादन भएका जैविक प्याडको प्रयोगमा जोड दिनुपर्ने उदेश्यका साथ समूदायमा सचेतना गराइएको हो ।
बजारमा आएका प्लास्टिकजन्य प्याडको प्रयोगले छालाको एलर्जी र क्यान्सर हुने सम्भावना भएको भन्दै यसको निरुत्साहित गर्दै स्वदेशी अर्गानिक प्याडमा जोड दिनुपर्ने न्यायका लागि सक्रिय महिला मंचकी अध्यक्ष सावित्री भण्डारीले बताउनुभयो ।
गुणस्तरहिन प्याडले वातावरण र स्वास्थ्यमा असर पार्ने हुँदा स्वदेशमा नै कपडाबाट बनेका प्याडको प्रयोग गर्न राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा झन्डै २५ जना महिलाहरूको सहभागीता रहेको थियो । बि.स. २०७५ सालमा भरतपुर १८ भुवनबस्ती डाँडामा मितेरी जैविक प्याड उत्पादन केन्द्र स्थापना गरिएको हो । यसले बजारी प्याडलाई निरुत्साहित गर्दै स्वदेशी प्याड र सामाग्रीको प्रबर्द्धन गर्दै आइरहेको छ । हालसम्म ९ जनालाई रोजगारी दिएको फाउन्डेसनकी अध्यक्ष पौडेलले बताउनुभयो ।
मर्यादित महिनावारीको पालना र महिलाबालबालिकाको क्षेत्रमा देखिदै आएका समस्या समाधानमा समेत न्यायका लागि सक्रिय महिला मंच र राधा पौडेल फाउन्डेसनले काम गर्दै आइरहेको छ ।