भरतपुर १० स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लिले नेपालमै दोस्रो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको छ । यसअघि बि.एण्ड बि. अस्पताल कुहिनाको जोर्नी प्रत्यारोपण गर्न नेपालमा नै पहिलो पटक सफल भएको थियो ।
विगत १३ वर्षदेखि चितवनको भरतपुरमा रही चोटपटक लागेका तथा दुर्घटनामा परेका बिरामीहरूलाई निरन्तर अस्पतालले सेवा दिदै आइरहेको हो । अस्पतालले घुँडा र कट्टीको जोर्नी प्रत्यारोपण, दुरविनबाट हुने घुँडा र कुमको अपरेशन लगायतका जटिल प्रकारका सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।
बाल्यकालदेखि हातको कुहिनाको समस्याबाट प्रताडित नवलपरासीका रामशुन्दर जोशीको हाल ५६ बर्षको उमेरमा उपचार पश्चात् उहाँको समस्या हल भएको छ ।
नेपालमा दोस्रो र काठमाडौं बाहिर पहिलोपटक कुहिनोको जोर्नी प्रत्यारोपण गर्न आफूहरु सफल भएको अर्थोपेडिक सर्जन डा. अनिल भट्टराईले जानकारी दिनुभयो । बिरामी जोशी हाल न्यूरोडमा रहेको एटिडिस्टेलरी कम्पनीमा कार्यरत हुनुहुन्छ ।
अस्पतालले महिनामा १५० भन्दा बढी र बर्षमा २ हजार भन्दा बढी दुर्घटनाबाट हुने चोटपटक तथा मेरुदण्डको अपरेशन घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण जस्ता कार्यहरू गर्दै आएको अस्पतालका प्रमुख डा. प्रमोद लामिछानेले बताउनुभयो ।
कट्टी र घुँडाको जोर्नी प्रत्यारोपण नियमितरूपमा हुँदै आएको भएपनि अहिलेसम्म कुहिनाको जोर्नी प्रत्यारोपण नेपालमा नभएको डाक्टरहरु बताउँछन् । यही भदौ १६ गते आइतबार कुहिनाको जोर्नी प्रत्यारोपणका लागि आएका बिरामी राम शुन्दर जोशी निको भएर घर जान लागेपछि डाक्टर र उनको परिवार खुशी भएका हुन ।
यस उपचार विधि नेपालमा भित्रिनाले हाडजोर्नी तथा नशा रोगको उपचारमा एक नवीन प्रविधिको सुरुवात भएको छ । अब कुनै पनि बिरामीले कुहिनोको दीर्घ समस्या लिएर बस्नुनपर्ने अर्थोपेडिक डा. भट्टराईको भनाइ छ ।
भविष्यमा आउन सक्ने सम्भावित चोटपटक, दुर्घटना र हाडजोर्नीको उपचारमा अरू थप नयाँ प्रविधिसहित समायानुकूल उपचार सेवामा समेत बिस्तार गर्ने अस्पतालले जनाएको छ । अस्पतालले हाडजोर्नी सम्बन्धि विभिन्न प्रकारका सेवाहरु दिदै आइरहेको छ ।
Advertisement
सोमबार, भदौ २४, २०८१
मा प्रकाशित