गाउँ घरमा दशैंको चहलपहल शुरु भएको थियो । अर्चलबोट डाँडामा पिरके पिङ, जाते पिङ र लठ्ठे पिङ हाली सकेको थियो ।
लट्ठे पिङ् पिपलको हंगामा हालिएको थियो । घर घरबाट बाबियो र पाट जम्मा गरेर लठ्ठा बनाइन्थ्यो। दसैँका लागि भनेर कमेरो माटो र रातो माटोले घर लिपेर राम्रो बनाउने गरिन्थ्यो।
गाउँघरका बाटाहरू सरसफाई गर्ने ,बाटो नजिक झाडी फाँडेर सफा बनाउने गरिन्थ्यो। कमेरो माटो लिन अर्चलबोटबाट दुई प्यार्दी नजिक पुगिन्थ्यो। रातो माटो लिन देवीको थानको तल जंगलमा गईन्थ्यो।
त्यो वर्षको दसैंका लागि पनि यही क्रम चलेको थियो । विदेशमा विशेष गरी भारतमा लाहुरे र अरु कामदारको रुपमा जानेहरु दशैं मन्नका लागि भनेर घर आउने गर्थे। दशैमा नयाँ लुगा लगाउने भनेर बच्चाहरु खुसी हुन्थे ।
च्युरा ढिकीमा कुटेर खाने चलन थियो। प्राय: बेलुका खाना खाए पछि च्युरा कुट्ने चलन थियो। हामी अलिकति च्युरा दिन्छन् कि भनेर ढुकेर बस्थ्यौं । आमाहरूले “बिग्रेको घान दिउँला पर्ख ” भन्थे । हामी कतिबेला घान बिग्रन्छ भनेर पर्खन्थ्यौ ।
यही दशैंको मौका पारेर मैले पनि आमालाई भने “आमा मेरो यो दौरा हेर्नु त कति टाली सक्नु भयो यो पाली दशैमा नयाँ दौरा सिलाई दिनु है ” । आमाले एकछिन रोकिएर “अहिले पैसा छैन टिकामान साहुले उधारो दिए भने भोलि बेलघारी जानु छ , ल्याई दिउला।” आमा खुसी भएको दिन पारेर भनेको थिएँ ।
किन कि हाम्रो आमा कडा हुनुहुन्थ्यो । इमान्दार र स्वाभिमानको पहाड नै हुनुहुन्थ्यो। आफ्नो हैसियत जस्तो छ त्यसैमा बाँच्नु पर्छ भन्नु हुन्थ्यो । आमाको दुःख देखेर पनि चाहिएको कुरा माग गर्न पनि डर लाग्थ्यो । त्यति बेला बेलघरीमा टीकामान श्रेष्ठ र पिताम्बर श्रेष्ठको कपडा पसल थियो । हाम्रो आमाले टीकामानको पसलबाट किनमेल गर्ने गर्नु हुन्थ्यो ।
ग्राहक पनि कुन पसलमा जाने आफ्नै साहुहरु हुन्थे । वहींखातामा लेखेर उधारो दिने पनि चलन थियो । मंसिर महिनामा धान काटे पछि साहुहरू घर घरमै पैसा उठाउन आउँथे।
मैले भनेको भोलिपल्ट आमा बेलघारी जानु भयो । आमाले टीकामानको पसलबाट” पछि कुटीखेलो गरेर पैसा तिर्छु । कान्छो दौरा भएन भनेर रोएको छ एउटा दौराको कपडा दिनु न साहुजी” भनेर भन्नु भएछ। साहुले पनि दिएछन् । आमाले दौराको कपडा ल्याउनु भयो ।
साइँलो दमाई घरमै आएको बेला पारेर दौराको नापो लिएर सिलाउन भनेर लगे । त्यतिबेला साँखर भन्ने ठाउँमा साइँलो दमाई र माइलो दमाई भन्ने थिए । उनीहरूले कुन घरको कपडा कसले सिउने भनेर भाग हुन्थ्यो ।
हाम्रो कपडा सिलाउने भाग साइँलो दमाईको भागमा परेको थियो । कपडा सिलाएको र आरनमा आँसी(हँसिया) कुटा कोदालाअर्चपेको वर्षमा वाली दिने चलन थियो । कामी र दमाईहरुले उनीहरूले मेरो बालीघरे घर भनेर पनि भन्थे गर्थे । यद्यपि अहिलेको अवस्थामा जातीय हिसाबले हेरिनु हुँदैन ।
यस प्रकारको कुरा पनि गर्नु हुँदैन । यो दण्डनीय हुन्छ । मैले इतिहासको कुरा गर्दैछु । नौरथा लागि सकेको थियो । दशैं आउन नजिक भएकोले आमा लाई भने ” अब पर्सी त अष्ठमी हो खै मेरो दौरा साइँलो दमाई बाले ल्याइदिएनन्। म लिन जान्छु है?” आमाले ” जान सक्छस र ?”मैले हिम्मतका साथ भने “सक्छु आमा” । हाम्रो घर अर्चलबोट डाँडामा थियो ।
त्यहाँ बाट साँखर जान झण्डै आधा घण्टा भन्दा बढी लाग्थ्यो । ” आज बेलुकासम्म आएन भने भोलि बिहानै जलास ।” त्यो दिन बेलुका सम्म पनि साइँलो दमाईबाले दौरा लिएर आएनन् । भोलि पल्ट बिहानै उठेर ” आमा म दौरा लिन जान्छु है? ” आमाले फेरि सोध्नु भयो ” सक्छन् नी?” मैले फेरि पनि “सक्छु ” भनेर आमालाई विश्वास दिलाएँ ।
आमाको पछि लाएर पहिला पनि गएको घर हो सक्छु भन्ने लाग्यो । मलाई त्यो दौरा कतिबेला ल्याउला र लगाउँला भन्ने हुटहुटी थियो ।
आमाको आदेश पाएपछि घरबाट निस्किएँ। साँखर जानलाई २ वटा बाटा थिए । एउटा खाल्टा गाउँबाट पालेको गैरो हुँदै जाने । त्यो बाटो अल्ली जंगल बढी थियो र मानिसहरू त्यो बाटो कम हिँड्थे । अर्को थियो , कन्द्रङ हुँदै खाल्टे गाउँको धारामा निस्केर चापानी गरणडाँडा भएर जाने । त्यो बाटो धेरै चल्तीको थियो । भोटेओडार र बेलघारीबाट आउने जाने बाटो भएकोले चल्तीको बाटो थियो ।
म त्यही बाटो गएँ । गरणडाँडा पुगे पछि अल्ली डर लाग्यो । जंगल पनि भएको अँध्यारो जस्तो लाग्ने बाटो थियो ।बच्चा मान्छे ९ वर्ष जतिको थिएँ होला । जंगलबाट केही आउछं की भन्ने डर भए पनि कतै नहेरी हिंडी रहेको थिएँ। कहीं चराले पातमा हिडेको आवाज आए पनि डर लाग्थ्यो । गरणडाँडा पुगेपछि साइलो दमाईको घर जाने माथिल्लो बाटो लागे ।
त्यो पनि अलि अलि जंगल खरबारीहरु थियो । फटाफट हिँडेर गएँ। साइँलो दमाईको घर नजिकै पुगें। नजिकै पुगे पछि कुनचाहिं घर होला भनेर अलिकति अलमल गरेको थिएँ। साहिली दमिनिआमा घर बाहिर रहेछिन् मलाई देखेर “खरदारको कान्छा जस्तो लाग्छ “भनेर बोलेको सुनें अनि पक्कै त्यही घर रहेछ भनेर घर गएँ।
हाम्रो बाले त्यति बेला राम्रा अक्षेर लेख्ने भएर बालाई खरदार भनेर चिन्थे गाउँमा त्यही नामले बोलाउँथे । अहिले पनि बूढा पाका भेट हुँदा खरदार कान्छा हो ? भनेर सोध्ने गर्छन् ।
पिडीमा हाते कलबाट साइँला दमाईबाले कपडा सिलाउँदै थिए । मेरो दौरा हो कि ? भनेको होइन रहेछ । मलाई एउटा चकटी दिए बस्नलाई संकेत गरे । म थुचुक्का बसेर भने “मेरो दौरा खै त?” साइँला दमाईबाले भने ” अ तो सिलाई दिने भनेको अलिकति भ्याएको छैन ।
बस बस बाबु तुना लगाउन बाँकी छ एकछिनमा सकिन्छ । किन दुःख पाएका मै लिएर आउँथे नी । दशैंको पनि भाग लिन आउनु थियो ।” आई हालें ल छिटो बनाई दिनु। पर्खिदा पर्खिदा के को तुना मात्रै बाँकी हुनु काटेर मात्रै राखेको रहेछ । बल्ल झिकेर सिउन सुरु गरे ।
विहान केही नखाई गएको थिएँ भोकले हैरान परेको थिएँ । उनीहरू पालो गरेर खाना खाए ।” के गर्छौ बाहुन नानीलाई हाम्रो घरमा खान दिन हुँदैन । पानी दिन पनि भएन हामीलाई पाप लाग्छ ।”कस्तो जमाना थियो होला ? मान्छे मान्छेमा यति साह्रो भिन्नता र छुवाछुत ।
यस्तो प्रचलनबाट अहिले पार पाई सकेको छ समाजले । छिटो बनाई दिनु म गई हाल्छू । झन्नै १२ बजे तिर बल्ल सकियो होला । अनि मेरो हात पार्यो दौरा । नयाँ दौरा पाया पछि खुसीको सीमा नै भएन। कति छिटो घर पुगें थाहा नै भएन। भनिन्छ नी कुनैं काम गर्दा खुसीका लागि गरियो भने गन्तव्यमा पुग्न गारो हुन्छ।
तर त्यही काम खुसीका साथ गरियो भने छिट्टै गन्तव्यमा पुगिन्छ भने जस्तै छिट्टै घर पुगे ।घरमा गएर धेरै ठाउँमा टालेको पुरानो दौरा फुकालेर नयाँ दौरा लगाएर हेरें । त्यति बेला शरीरमा दौरा मात्रै हुन्थ्यो । न कट्टु न सुरुवाल । तै पनि नयाँ दौरा लागाउन पाउँदा कती खुसी आहा ! आमाले भन्नु भयो ” ल ल लगाएर हेरिस अब फुकाल टीकाको दिनमा लगाउने हो । मैले फुकालेर जतन गरि राखे दसैंको दौरा
दशैंको दौरा
दशैंको दौरा
Advertisement
तपाईको प्रतिक्रिया