स्वदेशमा उत्पादित महको बजारीकरणमा जोडदिन मह व्यवसायी बिष्णु प्रसाद भुसालले माग गर्नुभएको छ ।
भरतपुर ९ शरदपुरमा बेणीचोक निवासी बिष्णुप्रसाद भुसाल बिगत २५ बर्षदेखि निरन्तर मौरीपालन व्यवसायमा आबद्द हुनुहुन्छ ।
स्वदेशमा नै केही गरौं भन्ने उदेश्यले आफू बिदेश नगई कृषि कर्म रोजेको उहाँ बताउनुहुन्छ ।
सुरुमा दुई हजार रुपैयाँबाट मौरीपालन व्यवसाय थालनी गर्नुभएका भुसालले अहिले वार्षिक ४ लाख कमाई गर्नुहुन्छ । एउटा घारबाट अहिले १७० वटा घार राख्नुभएको छ । बर्षमा ३० देखि ३५ क्विन्टल मह उत्पादन गर्दै आउनुभएका भुसालले अझैपनि राज्यले कृषिजन्य उत्पादनको बजारीकरण गर्न नसकेको बताउनुभयो ।
आफूले उत्पादन गरेको मह देशका विभिन्न क्षेत्रमा पुग्ने गरेको उहाँको भनाइ छ । चितवन, दाङ, प्युठान, रोल्पा, भैरहवा, घुमही लगायतका विभिन्न जिल्ला तथा क्षेत्रमा मौरी चराउन लैजाने गरेको बताउनुभयो ।
देशमा बढ्दो महँगीका कारण व्यवसायीहरु दिनानुदिन बिस्थापित हुँदै गएको भुसालको भनाइ छ । चितवनमा हालसम्म ३०० जना मौरीपालक व्यवसायीहरु रहेका मध्ये ५ प्रतिशत जति व्यवसायी बिस्थापित भएको भुसालले जानकारी दिनुभयो ।
राज्यले किसानलाई सहुलियत दरमा ऋण, विमा, कृषि औजार मल, बीउ, उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले मौरीपालक किसानका लागि तालिम, अनुदान र उत्पादित महको बजारीकरणमा राज्यले तत्काल जोड दिनुपर्ने धारणा राख्नुभयो ।