चितवन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ ।
चितवन सामुदायिक बचत तथा ऋण सहकारीका शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने सम्झौता भएको हो ।
पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर –१० को तर्फबाट प्रबन्ध निर्देशक सुजनराज अधिकारी र चितवन सामुदायिक बचत तथा ऋण सहकारी लि.का अध्यक्ष दिपक राज खनालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
सम्झौता पत्रमा सहकारीका सदस्य तथा परिवारको स्वास्थ्य परीक्षणमा २५% छूटको गरिनेछ । प्रयोगशाला परीक्षण, बेड सेवा, इसिजी, भिडियो एक्सरे, सिटी स्क्यानलगायतका सेवाहरुमा पनि छूट सुविधा पाउने भएका हुन् ।
यस्तै औषधिमा ७ प्रतिशत छूट सुविधा हुने छ । सो क्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले जनताको स्वास्थ्यप्रति सधै अस्पताल र आफू गम्भिर रहेको बताए । उनले जनताको स्वास्थ्य परिक्षण कार्यक्रम गाँउ घरमा नै अथवा प्याकेजमा अस्पतालमै गरिने जानकारी दिए ।
आर्थिक अभावमा पनि सहकारीका सदस्यहरुको उपचारमा अस्पतालले गुणस्तरीय सेवा दिने बताए। शहर देखि चितवनका पहाडी क्षेत्रका सदस्यहरूसंग प्रत्यक्ष जोडीएर काम गर्न पाउँदा खुसी लागेको बताए ।
सहकारीका अध्यक्ष दिपक राज खनालले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । भरतपुर,कालिका,रत्ननगर पालिकाको दुरर्गमसम्म शेयर सदस्यहरु रहेको अवस्थामा सम्झौताले ठूलो राहत र ऊर्जा मिलेको अध्यक्ष खनालले बताए ।
रक्तदान, शिबिर,सचेतना,जनतासंग अस्पताल कार्यक्रम लिएर टोल-टोलमा पुगेर सेवा दिदै आएको अस्पतालका सामाजिक सेवा प्रमुख केदार सुबेदीको भनाई थियो । आकस्मिक तथा विशिष्ट सेवाको लागि आपसी समझदारीमा अगाडी बढीने सम्झौता पत्रमा उल्लेख छ ।
गत वैशाख १ गतेदेखि नया ठाउबाट सञ्चालनमा आएको अस्पतालमा सिटी स्क्यान सेवासहित अत्याधुनिक सेवा छन् । एक सय बेड रहेको सो अस्पतालमा विभिन्न विधाका ४० जना विशेषज्ञ चिकित्सकले सेवा दिंदै आएका छन् ।
अस्पतालले जनतासंग अस्पताल अन्तर्गत स्वास्थ्य शिक्षा नि:शुल्क सिवीर तथा छूट सेवा दिंदै आएको छ । सम्झौता कार्यक्रममा साकोसकी सचिब पार्वती खड्का,सहसचीब मैयादेवी काफ्ले, संचालकहरु, ब्यबस्थापक दुर्गा देवी दुरा को सहभागीत थियो ।