देवघाट गाउँपालिका–३ का किसानहरू पक्की पुल नहुँदा वर्षौंदेखि सुन्तला बजार पुर्याउन ठूलो समस्यामा परिरहेका छन्।
कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको क्षेत्रमा एउटा पनि पक्की पुल नबनेपछि करोडौँ मूल्यका सुन्तला भरियामार्फत वा घुमाउरो बाटो भएर ढुवानी गर्न बाध्य छन्।
सुन्तलामा रोग लागेर उत्पादन घटेपनि आम्दानी भने गत वर्षभन्दा ३० प्रतिशतले बढेको किसानहरू बताउँछन्। यस वर्ष पहिलो सातादेखि नै सुन्तला बजार पठाइँदैछ भने एक क्रेटको मूल्य रु १,४०० सम्म पुगेको छ।
सिधा सडक नहुँदा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो छ। कतिपयले ग्राभिटी रोपवे प्रयोग गरी बुद्धसिंह मार्गसम्म पुर्याएर दमौली हुँदै काठमाडौं पठाउने गरेका छन्। लुङ्ग्रिङका केही घरधुरीले मात्र वर्षमा रु २० लाख बराबरको सुन्तला बेच्ने गरेका छन्।
कृषकहरूले छिटो पक्की पुल निर्माण र सडक पहुँच विस्तार गरेर आफूहरूलाई बाटोका समस्या र बिचौलियाको निर्भरता हटाइदिन सरकारसँग माग गरेका छन्।
