भरतपुर महानगरपालिका वडा नम्बर ८ ले वडामा रहेका टोल विकास संस्था अन्तर्गतका आमा समूहका महिला सदस्यहरुलाई ४५ दिने मादल बजाउने तालिम सञ्चालन गर्ने भएको छ ।
इच्छुक सहभागीहरूको नामावली बुझाउन वडा कार्यालयले टोल विकास संस्थाहरूलाई औपचारिक सूचना जारी गरेको हो ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार १०० घरधुरीभन्दा बढी सदस्य रहेको टोल विकास संस्थामा आवद्ध आमा समूहले ४ जना तथा १०० घरधुरीभन्दा कम सदस्य रहेका टोल विकास संस्थाअन्तर्गतका आमा समूहले ३ जना महिलाको नाम सिफारिस गर्नुपर्नेछ।
सहभागी हुन इच्छुक व्यक्तिहरूको नाम टोल विकास संस्थाको अधिकृत पत्रमार्फत उल्लेख गरी सूचना जारी भएको मितिबाट १५ दिन अर्थात मंसिर २८ गतेभित्र वडा कार्यालयमा बुझाइसक्न अनुरोध गरिएको छ।
यस तालिमले महिलालाई सांस्कृतिक सीप विकासका साथै स्थानीय कलाको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास वडा अध्यक्ष जीवनाथ कंडेलले व्यक्त गर्नुभयो ।
