होटल व्यवसायी संघ चितवनका महासचिव कृष्णकुमार महतो विगत दुई दशकदेखि चितवनमा सफल होटल व्यवसायीका रूपमा परिचित रहँदै आउनुभएको हो ।
भरतपुर महानगरपालिका–२८, मेघौली निवासी महतोको भरतपुर–कमलनगरमा अवस्थित होटल ह्याप्पीहोम समेत सञ्चालनमा रहेको छ।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहँदै आउनुभएका महतो विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुनुहुन्छ।
चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा यही पुस २१ गते हुन गइरहेको निर्वाचनमा उहाँले उद्योगतर्फ कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।
व्यवसायिक क्षेत्रमा लामो अनुभव बटुल्नुभएका महतोले निर्वाचित भएमा व्यवसायीका हकहित र अधिकारको प्रभावकारी कार्यान्वयनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले कोरोना महामारीको आर्थिक असरबाट देश गुज्रिएको अवस्थामा पछिल्ला जनआन्दोलनहरूले व्यवसायिक क्षेत्र झनै प्रभावित बनेको बताउनुभयो।
राज्यले व्यवसायीका समस्या र अधिकारप्रति गम्भीर ध्यान दिनुपर्ने धारणा राख्दै महतोले आफू सधैं व्यवसायीहरूको साथमा रहने उल्लेख गर्नुभयो ।
व्यवसायिक वातावरण सुदृढ बनाउँदै निजी क्षेत्रको आत्मबल बढाउन संघको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको स्पस्ट धारणा छ ।

