अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन “Innovation for Sustainable Future: Advancing Green Technologies & Multidisciplinary Research Trends” पौष २५–२६ गते सम्पन्न भएको छ।
सम्मेलनमा नेपालसहित १० भन्दा बढी देशका शिक्षाविद्, अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहेको थियो। दिगो विकास, हरित प्रविधि, नवप्रवर्तन र बहुविषयक अनुसन्धानसम्बन्धी कार्यपत्र प्रस्तुति, छलफल तथा अन्तरक्रिया सत्र सञ्चालन गरिएका थिए।
पहिलो दिन प्रमुख अतिथि प्रा. डा. प्रेम नारायण अर्याल र दोस्रो दिन प्रो. डा. सारदा थपलिया रहनुभएको थियो भने सम्मेलनको सभापतित्व कलेजका प्रिन्सिपल प्रा. डा. हरि भण्डारीले गर्नुभएको थियो। आयोजकका अनुसार ३४ शैक्षिक संस्थाका ६३ समूहले कार्यपत्र प्रस्तुत गरेका थिए।
अनुसन्धान विभाग प्रमुख प्रो. डा. बसन्त प्रसाद अधिकारीले सम्मेलनले अनुसन्धान संस्कृतिलाई बलियो बनाएको बताउनुभयो भने भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले यसले कलेजको अन्तर्राष्ट्रिय पहिचान बढाएको उल्लेख गर्नुभयो।
दुई दिनसम्म चलेको सम्मेलनले दिगो विकास र अनुसन्धान सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

