वि.सं. २०४२ साल असोज ९ गते वुवा बासुदेव बश्याल र आमा धर्मदेवी बश्यालको कोखबाट जन्मनुभएका टेक प्रसाद बश्याल चितवन जिल्लाका चिरपरिचित र प्रभावशाली राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ ।
सानै उमेरदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएका बश्याल नेपाली राजनीतिमा उदाउँदै गरेका दृढ, स्पष्ट विचारधारा भएका र प्रतिबद्ध युवा नेताको रूपमा स्थापित हुनुहुन्छ।
उहाँले मात्र ११ वर्षको उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सहभागिता जनाउँदै विद्यार्थी संगठनमार्फत राजनीतिक यात्रा प्रारम्भ गर्नुभयो। वीरेन्द्र क्याम्पसमा अध्ययनरत रहँदा उहाँ नेपाली कांग्रेसका प्रखर वक्ताका रूपमा चिनिनुहुन्थ्यो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई आत्मसात् गर्दै राजनीतिलाई सेवाको माध्यम ठान्ने बश्याल तत्कालीन समयदेखि नै वैचारिक रूपमा परिपक्व नेताका रूपमा परिचित रहनुभयो। यही निरन्तर संघर्ष, प्रतिबद्धता र योगदानको परिणामस्वरूप उहाँ वि.सं. २०७८ सालदेखि नेपाली कांग्रेस बिपीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएको छ।
राजनीतिमा सबै अट्ने, सबैलाई समेट्ने र सबैलाई सम्मान गर्ने सोच नै दिगो लोकतन्त्रको आधार हो भन्ने मान्यता उहाँको मूल राजनीतिक दर्शन हो। भाषा, धर्म, जाति वा लिङ्गका आधारमा हुने कुनै पनि प्रकारका विभेदलाई उहाँ दृढतापूर्वक अस्वीकार गर्नुहुन्छ।
बिपी कोइरालाले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै संवैधानिक राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाको पक्षमा उभिँदै, क्षणिक लाभ र स्वार्थमा आधारित राजनीतिभन्दा माथि उठेर “सबैभन्दा पहिले देश” भन्ने राष्ट्रिय नाराका साथ उहाँ अगाडि बढिरहनुभएको छ।
वर्तमान नेपाली राजनीतिक परिपेक्षमा वर्ग र समुदायका मानिसहरूको सामूहिक नेतृत्वसहितको बृहत् प्रजातान्त्रिक सरकारको आवश्यकता रहेको नेता बश्यालको स्पष्ट ठम्याइ छ। मुलुकलाई निकास दिन गोलमेच सम्मेलनजस्तो समावेशी संवाद प्रक्रिया आजको अपरिहार्य आवश्यकता भएको उहाँको धारणा छ।
विदेशी शक्तिहरूको प्रभावमा परेर, जानेर वा नजानेर, केही राष्ट्रिय नेताहरू प्रयोग भई नेपाली समाजबीचको आत्मीयता भंग गर्ने, धार्मिक सहिष्णुता कमजोर बनाउने प्रयास भइरहेका छन्। यस्ता प्रवृत्तिलाई जनताले आफ्नो अमूल्य मतमार्फत दण्डित गर्ने अवस्था निर्माण नभएसम्म नेपाल र नेपालीको समुन्नत भविष्यको कल्पना गर्न सकिँदैन भन्ने उहाँको स्पष्ट बुझाइ छ ।
आज नेपालमा ब्युरोक्रेसी र अटोक्रेसीको दोहोरो चपेटामा जनताको करलाई निजी सम्पत्तिजस्तै दुरुपयोग गर्ने प्रवृत्तिले देशलाई विनाशको बाटोमा धकेलिरहेको यथार्थलाई चिर्दै, सामूहिक एकता, राष्ट्रिय सहमति र जनमुखी राजनीतिमार्फत अघि बढ्नु नै वर्तमानको मूलभूत आवश्यकता हो भन्ने विश्वास नेता बश्यालले राख्नुहुन्छ।
राष्ट्र, प्रजातन्त्र र जनताको सर्वोच्चतामा अडिग रहँदै उहाँले अघि सारेको राजनीतिक दृष्टिकोण आजको संक्रमणकालीन नेपाली राजनीतिमा आशा, विश्वास र विकल्पको रूपमा स्थापित हुँदै गएको छ।
युवा नेता टेक प्रसाद बश्यालले पछिल्लो विश्व राजनीतिक घटनाक्रमले शक्तिको आधारमा साना राष्ट्रमाथि आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
नेता बश्यालका अनुसार अन्तर्राष्ट्रिय राजनीतिमा आपसी सहअस्तित्व स्वीकार नगर्ने सोच हावी हुँदै गएको छ, जसका कारण शक्तिशाली राष्ट्रहरूले कमजोर देशमाथि बल प्रयोग गरिरहेका छन्।युक्रेनमाथि भइरहेको आक्रमण होस् वा अमेरिकाले भेनेजुयलामाथि गर्दै आएको दबाब, यस्ता गतिविधिले सर्वसाधारण नागरिकको मानव अधिकार र प्रजातान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
विश्व शक्तिहरूले आफ्नो प्रभाव विस्तार गर्ने नाममा हस्तक्षेपकारी नीति अपनाउँदा निर्दोष नागरिक प्रत्यक्ष प्रभावित भइरहेको उल्लेख गर्दै शान्ति, सहअस्तित्व र कूटनीतिक संवादमार्फत समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
नेता बश्यालले अन्तर्राष्ट्रिय समुदायलाई मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै विश्व शान्तिका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।







