नेपाली बौद्धिक जगतमा प्रा.डा. कर्णबहादुर बानियाँ परिचयको मोहताज नाम होइन। इतिहास अनुसन्धान, साहित्य सिर्जना र समालोचनात्मक चिन्तनलाई समानान्तर रूपमा अघि बढाउँदै आउनुभएका उहाँ नेपाली वाङ्मयका बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ।
इतिहासकार, शिक्षाविद्, बालसाहित्यकार, कथाकार तथा समालोचकका रूपमा उहाँले पुर्याउनुभएको योगदान नेपाली ज्ञान–परम्पराको महत्वपूर्ण सम्पत्ति बनेको छ।
वि.सं. २०१२ जेठ ११ गते म्याग्दी जिल्लाको तत्कालीन पुलाचौर गाउँ पञ्चायत–४, भीरमुनिमा बुवा दिलबहादुर बानियाँ र आमा कृष्णकला बानियाँको कोखबाट जन्मनुभएका बानियाँ हाल भरतपुर महानगरपालिका–१२, राधाकृष्ण टोलमा स्थायी बसोबास गर्दै आउनुभएको छ। उच्च शिक्षा अन्तर्गत इतिहास विषयमा विद्यावारिधि (PhD) तथा कानुनमा स्नातक तहको अध्ययन पूरा गर्नुभएका उहाँले आफ्नो जीवनको अधिकांश समय शिक्षा र अनुसन्धान क्षेत्रमा समर्पित गर्नुभएको छ। माध्यमिक तहमा १५ वर्ष तथा त्रिभुवन विश्वविद्यालयमा ३१ वर्षभन्दा बढीको प्राध्यापन अनुभवले उहाँलाई शैक्षिक क्षेत्रको विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
इतिहासकारका रूपमा बानियाँको योगदान विशेष उल्लेखनीय छ। नेपालको इतिहास, संस्कृति, वंशावली, क्षेत्रीय अध्ययन तथा राष्ट्रिय निर्माण प्रक्रियासम्बन्धी विषयमा उहाँले गहन अनुसन्धान गर्नुभएको छ। उहाँका इतिहास तथा संस्कृति सम्बन्धी कृतिहरूमा पाल्पाको भगवती जात्रा, बानियाँ वंशको नालीबेली, पाल्पा गैंडा : एक इतिहास अध्ययन, नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान, नेपाल राष्ट्र निर्माणमा बानियाँ वंशको योगदान, म्याग्दीको इतिहास, संस्कृति र सम्पदा, त्रिलोचन उपाध्याय पोख्रेलको योगदान र व्यक्तित्व तथा डेकबहादुर बानियाँ : जीवनी र व्यक्तित्व विशेष चर्चित छन्। यी कृतिहरूले नेपाली इतिहास लेखनमा नयाँ सामग्री र दृष्टिकोण थपेका छन्।
इतिहास अनुसन्धानसँगै साहित्य सिर्जनामा पनि उहाँ उत्तिकै सक्रिय रहनुभएको छ। बालमनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएका उहाँका बालकथाहरूले नेपाली बालसाहित्यमा विशिष्ट स्थान बनाएका छन्। अटेरी चल्लो, एक अनौठो जंगल र चकलेटको पोको जस्ता बालकथा सङ्ग्रहले बालपाठकको मनोविज्ञानलाई सशक्त ढंगले अभिव्यक्त गरेका छन्। त्यसैगरी मनका तरङ्ग कविता सङ्ग्रह र अनामिका लघुकथा सङ्ग्रहले उहाँको साहित्यिक व्यक्तित्वलाई थप उचाइ प्रदान गरेका छन्।
सिर्जनात्मक लेखनसँगै बानियाँको अर्को सशक्त परिचय समालोचकको हो। उहाँको समालोचनात्मक दृष्टि पूर्वाग्रह, आग्रह वा व्यक्तिकेन्द्रित मूल्याङ्कनभन्दा माथि उठेर कृतिको वस्तुगत विश्लेषणमा केन्द्रित देखिन्छ। समालोचकका रूपमा उहाँले लेखकलाई प्रसन्न पार्नेभन्दा पनि कृतिको गुण र सीमालाई निसंकोच ढंगले उजागर गर्ने साहस देखाउनुभएको छ। यही कारण उहाँका समीक्षा लेखनहरू बौद्धिक बहसका विषय बन्ने गरेका छन्।
उहाँको समीक्षात्मक कृति अनेक सृष्टि : एक दृष्टि यसै चेतनाको सशक्त उदाहरण हो। उक्त कृतिमा आख्यान, कविता, नाटक र निबन्धलगायत नेपाली साहित्यका विविध विधाका कृतिहरूलाई समेटेर गहिरो अध्ययन र विश्लेषण प्रस्तुत गरिएको छ। कुनै एक विधाको सीमित घेरामा नअड्की नेपाली साहित्यका बहुविध आयामलाई समालोचनात्मक दृष्टिले हेर्ने प्रयासले यस कृतिलाई विशेष बनाएको छ। यसमा लेखकका सबल पक्ष मात्र होइन, सुधार गर्नुपर्ने क्षेत्र र सम्भावनाहरूलाई समेत रचनात्मक रूपमा औँल्याइएको छ, जसले सम्बन्धित स्रष्टाका लागि बौद्धिक मार्गदर्शनको काम गर्छ।
ज्ञान, अनुसन्धान र साहित्यिक साधनाको लामो यात्रामा उहाँले अनेक प्रतिष्ठित पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ। धवलागिरी साहित्य पुरस्कार, मानवअधिकार वर्ष पुस्तक पुरस्कार, सुकदेव–सुकमाया लामिछाने बाल साहित्य पुरस्कार, त्रिभुवन विश्वविद्यालय विशिष्ट सेवा पुरस्कार, सूर्यनारायण पुरस्कार, पण्डित नीलकण्ठ पौडेल स्मृति पुरस्कार, जगतचन्द्र राष्ट्रिय स्मृति पुरस्कार, त्रिलोचन स्मृति सम्मान, खिमा–केशरी रमण राष्ट्रिय साहित्य सम्मान, कृष्ण बम मल्ल प्रज्ञा सम्मान तथा धवल दीर्घ साधना पुरस्कार उहाँका महत्वपूर्ण उपलब्धिहरू हुन्।
त्यसैगरी विभिन्न सामाजिक, साहित्यिक तथा शैक्षिक संस्थाबाट प्राप्त सम्मानहरूले उहाँको योगदानलाई थप प्रतिष्ठित बनाएका छन्। बानियाँ बन्धु समाज, पाल्पा साहित्य समाज, राष्ट्रिय मानव अधिकार आयोग, लोकवार्ता परिषद् नेपाल, नेपाल बाल साहित्य समाजलगायतका संस्थाबाट उहाँ सम्मानित भइसक्नुभएको छ ।
प्रा.डा. कर्णबहादुर बानियाँ नेपाली इतिहास, शिक्षा र साहित्यका बीच सेतु निर्माण गर्ने दुर्लभ व्यक्तित्व हुनुहुन्छ। अनुसन्धानको कठोरता, साहित्यिक संवेदनशीलता र समालोचनात्मक निर्भीकताको अद्भुत संगम उहाँको व्यक्तित्वमा भेटिन्छ। इतिहासलाई अभिलेखमा, साहित्यलाई सिर्जनामा र चिन्तनलाई समालोचनामा रूपान्तरण गर्दै उहाँले नेपाली बौद्धिक परम्परामा विशिष्ट छाप छोड्नुभएको छ।
आगामी पुस्ताले अध्ययन र अनुकरण गर्नुपर्ने स्रष्टा तथा चिन्तकका रूपमा प्रा.डा. कर्णबहादुर बानियाँको योगदान नेपाली समाज र साहित्यमा दीर्घकालसम्म स्मरणीय रहनेछ।






