चितवनको रत्ननगरमा सञ्चालन भइरहेको रत्ननगर महोत्सवमा उद्यमशील महिला सञ्जाल केन्द्रले सञ्चालन गरेको स्टल दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ।
विशेषगरी सेलरोटी लगायत विभिन्न रैथाने खानाका परिकारहरूको स्वाद चाख्न महोत्सवमा आउने दर्शकहरूको उल्लेखनीय भीड लाग्ने गरेको छ।
सञ्जालकी अध्यक्ष गीता सिंखडाका अनुसार वि.सं. २०७४ सालमा रत्ननगर नगरपालिका–३ मा ७ जना महिलाको सहभागितामा रू. ५० हजार लगानीबाट सञ्जालको स्थापना गरिएको थियो। हाल नगर तथा वडाबाट प्राप्त अनुदान सहयोगमार्फत ५२५ महिलालाई उद्यमशीलतामा जोड्न सफल भएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार सञ्जालले रैथाने खानाका परिकार उत्पादन तथा बिक्री, सामूहिक कृषि खेती, अदुवा, बेसार, लसुन, धान, सयपत्री फूल, कोदो र फापरको उत्पादनसँगै सामूहिक खाजा पसलसमेत सञ्चालन गर्दै आएको छ। साथै, विभिन्न मेला–महोत्सवमा स्टल सञ्चालन गरी स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आएको छ।
सञ्जालले आगामी दिनमा रत्ननगर नगरपालिकाका सातै वडामा कोशेली घर सञ्चालन गर्ने तयारीसमेत गरिरहेको अध्यक्ष सिंखडाले बताउनुभयो। यस पहलले स्थानीय महिलाको आर्थिक सशक्तीकरणसँगै रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

