काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति झापा र महोत्तरीमध्ये एक ठाउँबाट उमेदवारी दर्ताको तयारी गरेका छन् ।
आइतबार मेयर पदबाट राजीनामा दिएर उनले माघ ६ गते उमेदवारी दर्ता गराउन लागेका हुन् ।
बालेनको सचिवालय स्रोतका अनुसार, उनले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उमेदवारी दर्ताको तयारी गरेका थिए । यसनिम्ति उनका सहायक स्वकीय सचिव नवीन भण्डारीको टोली सम्पर्क कार्यालय व्यवस्थापनका निम्ति झापा पुगिसकेको छ ।
“मेयरले भोलि (आइतबार) राजीनामा दिनुहोला । झापा र महोत्तरीमध्ये एक ठाउँबाट उमेदवारी दर्ता गर्ने कुरा छ । पहिले झापाबाटै चुनाव लड्ने भन्ने थियो । तर, महोत्तरीका जनताले आफ्नै क्षेत्रबाट चुनाव लड्नुपर्ने प्रेसराइज गरेपछि महोत्तरी पनि हुन सक्ने सम्भावना छ ।
स्रोतका अनुसार, बालेनले काठमाडौं क्षेत्र नम्बर–२ पनि ‘होल्ड’मा राखेका छन् । ०७९ सालको निर्वाचनमा काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री सोविता गौतम निर्वाचित भएकी थिइन् । यसपालि उनलाई चितवन–२ बाट प्रतिस्पर्धा गराउने तयारी छ । राजीनामा दिएपछि बालेन काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ ।
उनलाई रास्वपाले यसअघि नै पार्टीको वरिष्ठ नेता घोषणा गरिसकेको छ । उमेदवारी दर्ताअघि माघ ५ गते जनकपुरमा हुने रास्वपाको पहिलो चुनावी सभामा सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिने नेताहरूले बताएका छन् ।

