नेपाल मगर संघ शाखा पोल्याण्डको आयोजनामा मगर समुदायको प्रमुख सांस्कृतिक पर्व ‘माघे संक्रान्ति २०२६’ पोल्याण्डको ब्रोस्वाभ सहरमा भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल मगर संघ शाखा पोल्याण्डका सभापति नवराज राना मगरको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा भविन्द्र गाहा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने सन्तु थापा मगर र भिम बहादुर खड्का विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
यसैगरी अतिथिका रूपमा ललित थापा मगर, नविन थापा मगर, दिपेन्द्र अधिकारी, ईश्वर देवकोटा, चतुरमान वाइवा र दिपेन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो।
मगर समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
मुख्य कलाकारका रूपमा सञ्जय थापा मगरले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति दिएर दर्शकको मन जित्नुभएको थियो। त्यस्तै, नेपाल मगर संघ शाखा माल्टाका कलाकारहरूको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।
पोल्याण्डमा रहेका स्थानीय कलाकारहरूले समेत आफ्ना प्रतिभामूलक प्रस्तुति देखाएका थिए। कार्यक्रमको सञ्चालन (उद्घोषण) नवराज राना मगर र जिवन सिञ्जाली मगरले संयुक्त रूपमा गर्नुभएको थियो।
आयोजकका अनुसार, यस प्रकारका कार्यक्रमले परदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। सहभागीहरूले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्नेमा जोड दिएका थिए।
