“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नारासहित चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ लक्ष्यअनुसारको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ।
करिब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्यसहित आयोजना गरिएको एक्स्पोमा अपेक्षित व्यापारिक उपलब्धि हासिल भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो।
एक्स्पोअन्तर्गत मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, डेरी उद्यमसम्बन्धी प्यानल छलफल, राष्ट्रिय गाई प्रदर्शनी, हाजिरी जवाफ प्रतियोगिता तथा कृषकहरूसँग बीटुबि मिटिङजस्ता कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएका थिए।
समापन समारोहमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो भने कृषि तथा दुग्ध क्षेत्रसँग सम्बन्धित सरकारी तथा सहकारी निकायहरूको उल्लेखनीय सहकार्य रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार डेरी क्षेत्रको प्रवर्द्धन, प्रविधि विस्तार र बजार विस्तारमा एक्स्पो प्रभावकारी बनेको छ।
