जग्गा किनबेच र नामसारी जस्ता काममा सेवाग्राहीलाई छिटो सेवा दिलाइदिने भन्दै चल्दै आएको ‘सेटिङ’ धन्दा अन्ततः प्रहरीको कारबाहीमा परेको छ। मालपोत कार्यालय भरतपुर परिसरबाट १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बिहीबार कार्यालयले अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्ने सूचना जारी गरेलगत्तै प्रहरी सक्रिय बनेको थियो। लामो समयदेखि केही व्यक्तिहरूले आफू कर्मचारी नभए पनि भित्रै पहुँच रहेको भन्दै सेवाग्राहीसँग रकम उठाउने, फाइल मिलाइदिने र लाइन नबसी काम गराइदिने प्रलोभन देखाउँदै आएको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।
कार्यालयका अनुसार यस्ता ‘मध्यस्थ’हरूले सर्वसाधारणलाई झुक्याएर आर्थिक लाभ लिने गतिविधि बढ्दो अवस्थामा पुगेपछि निगरानी कडा पारिएको थियो। सोही क्रममा कार्यालय परिसरमै सक्रिय गिरोहका सदस्यहरू पक्राउ परेका हुन्।
नियन्त्रणमा लिइएका सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस घटनाले सरकारी कार्यालयभित्रै चल्ने अनौपचारिक सेटिङ र दलाल प्रवृत्तिमाथि प्रश्न उठाएको छ भने सेवाग्राहीलाई सचेत रहन पनि आग्रह गरिएको छ।
