नेपाली आतिथ्य क्षेत्रमा सक्रिय होटल पौवा प्रालिले आफ्नो १०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर कम्पनीले देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने जनाएको छ।
चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने उत्सवमा नेपाली रैथाने परिकार तथा विशेष आतिथ्य सेवा प्रदान गरिने ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी गराउन देशभरबाट करिब ४० हजार निमन्त्रणापत्र वितरण गरिएको छ।
साथै, भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गरिनेछ, जहाँ कम्पनीको विस्तार योजना र ‘मिसन १००’ सम्बन्धी छलफल हुने जनाइएको छ।
रुपन्देहीको सालझण्डीबाट सानो सुरुवात गरेको पौवाले हाल देशका विभिन्न स्थानमा २० शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीमा करिब १,००० कर्मचारी र २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ।
नयाँ वर्षको स्वागतस्वरूप चैत ३० गते ‘शुभकामना साँझ–२०८३’ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
